सर्वाेत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

 मंसिर १३, २०८० बुधबार १४:२६:१७ | रासस
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको यो पदक यस वर्षदेखि वितरण नगरिने भएको हो । 

त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उहाँले भन्नुभयो, ‘सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’

‘पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो’, जोशीले भन्नुभयो, ‘अहिले सेमेस्टरअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार मूल्याङ्न गरिने हुँदा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।’

कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उहाँको भनाइ थियो ।

दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।

त्रिविको ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिस्ट्रार प्रा. डा. पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताउनुभयो । 

‘पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो’, उहाँले भन्नुभयो, ‘स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।’

दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताउनुभयो । उहाँले बिस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताउनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया