अटो रिक्साले फेरिएकाे अनिताकाे जीवन

 मंसिर १९, २०८० मंगलबार ११:४०:१३ | रासस
unn.prixa.net

नवलपरासी – नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उहाँले भन्नुभयो ‘जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।’ उहाँ छोरीसँगै अटो रिक्सा लिएर बिहान साढे ९ बजे घरबाट निस्कनुहुन्छ । छोरीलाई स्कुल छाडेपछि अनिताको अटो रिक्साको काम शुरु हुन्छ । 

महिलाले गाडी चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्नन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो रिक्सा चलाएको अनिताको भनाइ छ । ‘अटो रिक्सा चलाउन थालेको पाँच वर्ष बितिसक्यो, परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु,’ उहाँले भन्नुभयो, ‘महिला भएर पनि अटो चलाउन सक्छौ भन्नेले मेरो मेहनत देखेर अहिले प्रशंसा गर्न थालेका छन् ।’

अटो रिक्सा चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ । आम्दानी बढेको छ, घर–घडेरी जोडिएको छ । छोराछोरी पढाउन सजिलोमात्रै भएको छैन, विदेश जानुभएका श्रीमान् पनि श्रीमतीको मेहनत र कमाइ देखेर स्वदेश फर्किनुभएको छ । ‘पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु,’ उहाँले भन्नुभयो, ‘मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यही पसल गर्ने योजना बनाएका छौँ।’

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उहाँको अनुभव छ । सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उहाँले बताउनुभयो । ‘लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ,’ उहाँले भन्नुभयो, ‘महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाहरूकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन् ।’

महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ । यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उहाँको बुझाइ छ । अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन् । गैँडाकोटमा दुई जना महिला व्यावसायिकरूपमा अटो रिक्सा चालक रहेका छन् । सङ्गठित भएका चालकहरूको सम्पर्कमा दुई जनामात्र महिला छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया