चितवनमा खाेर अभाव भएपछि मान्छे खाने बाघलाई बर्दिया पठाइयाे

 मंसिर १९, २०८० मंगलबार १५:२३:१६ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको भए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गएकाे साउनमा नियन्त्रणमा लिइएको थियो ।

कसराको खोरमा चारव टा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै गएकाे वर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको १० वर्षको भाले बाघ पनि सौराहामै छ ।

तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गएकाे भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुई वर्षअघि ल्याइएको नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ । माडीको वनकट्टाबाट ल्याइएको १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिई ल्याइएको १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन । 

निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ । त्यही ठाउँमा बाघ राख्नका लागि दुई वटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ ।

हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । ठाउँ, जनशक्ति र आहाराका कारण बाघको व्यवस्थापन कठिन बनेको हो । 

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुई वटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया