चुनावमा गठबन्धन गर्न हुन्छ कि हुँदैन भनेर अहिले बहस थाल्नुपर्ने बेला नै हाेइन : महामन्त्री शर्मा

 मंसिर २१, २०८० बिहिबार २०:१४:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन अहिले बहसको विषय नभएको बताउनुभएकाे छ ।

नेपाल प्रेस युनियन दाङले आज बिहीवार गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले गठबन्धनका बारेमा बहस थाल्नुपर्ने समय अहिले नभएको बताउनुभएकाे हाे । चार वर्षपछि आउने चुनावका लागि गठबन्धन गर्ने/नगर्ने विषयमा अहिले धारणा आवश्यक नरहेको उहाँकाे भनाइ छ ।

‘चुनावमा गठबन्धन गर्न हुन्छ कि हुँदैन भनेर अहिले बहस थाल्नुपर्ने बेला नै हाेइन’, महामन्त्री शर्माले भन्नुभयाे, ‘अहिले बहस गर्नुपर्ने विषय भनेको सङ्गठन मजबुतीको हो ।’ 

चुनाव आउन अझै चार वर्षको अवधि रहेकाले अहिले नै गठबन्धनको बहस थालनी गरेर कुनै अर्थ नहुने भन्दै उहाँले चुनावताका मात्रै यो विषयको बहस थालनी हुनुपर्ने बताउनुभयाे । यसर्थ गठबन्धनको बहसले पार्टीमा निर्णायक रूप लिने वा नलिने भन्ने विषय अहिले नै निर्क्याेल नहुने उहाँको भनाइ छ ।

‘कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले पारित गरेको प्रस्ताव वा नेताहरूले गठबन्धनका विषयमा राखेको धारणाले पार्टीभित्र निर्णायक रूप लिने भन्ने कुरा अहिले निर्क्याेल हुने विषय हाेइन’, महामन्त्री शर्माले भन्नुभयाे, ‘यो विषयको टुङ्गो लाग्ने अवधि पछि आउँछ, अहिले हाेइन ।’

शर्माले वर्तमान गठबन्धनको सरकार ढाल्ने कसरत कहीँ कतैबाट नभएको उल्लेख गर्नुभयाे । ‘अहिलेको सरकार ढाल्ने कसरत गठबन्धन भित्रबाटै भइरहेको छ भन्ने हल्लाहरू चलाइएका छन्, अहिलेको सरकार ढाल्नका लागि कुनै प्रयास वा पहल भएका छैनन्’, उहाँले भन्नुभयाे, ‘यो सरकारलाई ढाल्ने गरी कसरत हुने पनि छैनन् ।’

वर्तमान नेतृत्वले गठबन्धन दलका बीचमा भएको पूर्ववत् सहमतिअनुसार आफ्नो अवधिसम्म सरकार सञ्चालन गर्ने भन्दै महामन्त्री शर्माले आफ्नो अवधि पूरा भएपछि नयाँ प्रक्रिया थालनी हुने बताउनुभयाे ।

अहिले एनसेलकाे शेयर खरिदबिक्री प्रकरणले धेरै आशङ्का उब्जाएको भन्दै यसकाे छानबिन अपरिहार्य रहेको महामन्त्री शर्माको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया