‘राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ’

 मंसिर २२, २०८० शुक्रबार १९:१०:७ | रासस
unn.prixa.net

हात्तीले भत्काएको घर, तस्बिर : रासस

मोरङ – साँझ पर्न नपाइ बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि मोरङको भाउन्नेका स्थानीय आतङ्कित बनिरहेका छन् । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ । 

बेलबारी नगरपालिका–१० भाउन्नेका तेजबहादुर दाहालले दश कट्ठा जमिनमा लगाएको मकै हात्तीले सोत्तर बनाएको छ । ‘राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ,’ दाहालले भन्नुभयो । बिहीवार राति स्थानीय रबिन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको छ । दाहाल भन्नुहुन्छ, ‘राति खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाले, हामीले भागेर ज्यान बचायौँ ।’

आज शुक्रवार बिहान मोरङको बेलबारी–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बस्तीमा आएका जङ्गली हात्तीलाई बस्तीभन्दा टाढा बासस्थानतर्फ चाँडै धपाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

साथै हात्तीले पुर्‍याएको क्षतिको उचित क्षतिपूर्ति दिइने मुख्यमन्त्री कार्कीले बताउनुभयो । बेलबारी–८ र १० मा मात्रै २० औँ बिघा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पुर्‍याएको बेलबारी–१० वडाध्यक्ष गङ्गाबहादुर याखाले बताउनुभयो । केही दिनदेखि दैनिक रुपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका साथै स्थानीयले प्रयास गरिरहे पनि पार नलागेको वडाध्यक्ष याखा बताउनुहुन्छ ।

मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ । यहाँका स्थानीय मकै र केरालाई नगदे बालीका रुपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेको बेलबारी–१० भाउन्नेका अशोककुमार सुब्बा बताउनुहुन्छ । बेच्नलाई तयारी अवस्थामा रहेको एक कट्ठा जमिनको मकै गएराति आएका जङ्गली हात्तीले सखाप बानाएको सुब्बाले बताउनुभयो ।

झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक/एक गरी चारजनाको ज्यान गइसकेको छ । यही मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको ज्यान गएको थियो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रबिन खड्काको ज्यान गएको थियो । चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्काको ज्यान गएको हो । प्रहरीका अनुसार इटहरीको वडा नम्बर १९, २०, २ र ३ मा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

मङ्सिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी ज्यान गएको थियो । जङ्गलबाट आएको एउटा हात्तीले वनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मङ्सिर १८ गते बिहान मात्रै मोरङको बेलबारीमा हात्तीले एकजनाको ज्यान लिएको छ । लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१० भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालित छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया