देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो

 मंसिर २२, २०८० शुक्रबार २०:३०:५ | रासस
unn.prixa.net

धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको अर्थतन्त्रलाई लयमा फर्काउन सकेमा त्यो आफ्ना लागि गौरवको  विषय हुने बताउनुभयो ।

प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको शुरुको अवस्थामा निराशाजनक रहेको अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र अझै दबाबमा रहे पनि अहिले रेमिट्न्स बढेको, धेरै पर्यटक नेपाल भित्रिएको, गएको महिनादेखि राजस्व बढेको र विदेशी मुद्राको सञ्चिति १७ महिनालाई पुग्ने गरी बढेको छ ।’ सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अभियान शुरु गर्ने जमर्को गरिएको उहाँले उल्लेख गर्नुभयो ।

‘एकथरि मान्छेले निराशा बाँडेर प्रचार गरेका छन्, ७० वर्ष लडेर प्राप्त परिवर्तनलाई उल्ट्याउने प्रयास गरेका छन्,’ उहाँले भन्नुभयो, ‘आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिइने छैन ।’

प्रधानमन्त्री दाहालले एनसेलको खरिदबिक्रीका सन्दर्भमा सरकारले छानबिन समिति गठन गरेको बताउनुभयो । राजनीति पनि मोटामोटी लयमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्ने अराजकतावादीका विरुद्ध दल एकठाउँमा उभिएको बताउनुभयो ।

सुदूरपश्चिमको समग्र विकासका लागि आफू दत्तचित्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उद्योग शिक्षा स्वास्थ्यको विकासको सवालमा आफूले प्राथमिकता दिएको बताउनुभयो । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वाविद्यालय बनाउने विधेयक छलफलमा रहेकाले यो विधेयक चाँडै पारित हुने बताउँदै उहाँले यो विषयमा कुनै अन्योल नराख्न आग्रह गर्नुभयो ।

धनगढीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले उरैभञ्ज्या नाका, दोधारा चाँदनी सुक्खा बन्दरागाह, पञ्चेश्वर जलविद्युत् परियोजनाको कामअघि बढिरहेको बताउनुभयो । उहाँले खप्तड क्षेत्रको विकास, परशुराम धाम, महाकाली नदीमाथि मोटरेबल पुल निर्माण जस्ता कामअघि बढाउन लागिएको बताउनुभयो । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारका साथै उद्योगी व्यवसायीले राखेका समस्या समाधानमा सङ्घीय सरकारले चासो देखाउन ध्यानाकर्षण गराउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाइ दिनुपर्नेमा जोड दिँदै राष्ट्र बैंकले आजै  ल्याएको मौद्रिक नीतिले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनसँगै आफ्नो पहलमा रु पाँच अर्ब लागानीको केवलकार योजना कैलालीको चिसापानीमा कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया