सडक सञ्जालसँग जोडिएपछि दुर्गम बस्ती सुगम बन्दै

 मंसिर २५, २०८० सोमबार १७:४४:५३ | डीबी बिष्ट
unn.prixa.net

बझाङकाे दुर्गाथली गाउँपालिका

बझाङ – दुर्गाथली गाउँपालिका–७ बाँझगाडाका मोहनलाल कडायतलाई आफ्नै जीवनकालमा गाडी चढेर घरमै पुगौँला भन्ने लागेको थिएन । नुन, खाद्यान्न किन्नका लागि महिना दिनसम्म पैदलै नेपालका विभिन्न बजारदेखि भारतका विभिन्न सहर पुगेको अनुभव कडायतलाई अझै ताजा छ । उहाँले दैनिक उपभोग्यमा सामान गाडीमार्फत घर पुर्याउँला, घरमा उत्पादन भएको गाईभैँसीको दूध, दही घिउ तथा तरकारी र फलफूल बिक्री गरेर आम्दानी गरौँला भन्ने सोच्नु पनि भएको थिएन । तर अहिले कडायतको घरअघि नै सडक पुगेको छ । दैनिक गाडी ओहोरदोहोर गरिरहेका हुन्छन् । अहिले उहाँलाई नुन र खाद्यान्न घरमा ल्याउन महिना दिन लाग्दैन, उहाँ २ घण्टामै बजार पुगेर सामान घर ल्याउनु हुन्छ ।

सडक सञ्जालसँग जोडिएपछि यहाँका दुर्गम बस्ती अहिले सुगम बनेका छन् । यहाँका बासिन्दाले २०७४ सालसम्म पनि १ पोका नुन लिनका लागि २ दिन हिँड्नुपर्ने बाध्यता थियो । सडकले छोएसँगै अहिले धेरै सजिलो भएको छ । सदरमुकाम तथा अन्य बजार जान पनि यही बाटो भएर जानुपर्ने हुन्छ । जसले गर्दा यहाँ गाडीको चहलपहल निकै बढेको छ ।

यस्तै दुर्गाथलीको सबैभन्दा विकट चुवाबन पनि सडक सञ्जालसँग जोडिएको छ । यसअघि १ दिनअघि नै मौरीबगर बजार पुगेर सामान तयार गरी भोलिपल्ट फर्किने गरेका यहाँका बासिन्दा सडक पुगेपछि बजार पुगेर २ घण्टामै घर फर्किने गरेका छन् । चुवाबनका नागरिकले आफ्नो गाउँमा भएको सिमी, जौ, आलु, चोतो (गान्टे मुला) बेचेर आम्दानी गरौँला भनेर सोचेका थिएनन् । तर पालिकाले झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा सडक बनाएपछि अहिले यहाँका नागरिकले यही सिमी, जौ, आलु, गान्टे मुला लगायतका तरकारी बेचेर आम्दानी गरिरहेका दुर्गाथली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झलक दौल्यालले बताउनुभयो ।

‘सडक सञ्जालसँग जोडिएपछि दुर्गम बस्ती सुगम बन्न थालेका छन् । यहाँका नागरिकले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी बेचेर आम्दानी गरिरहेका छन्’, प्रमुख प्रशासकीय अधिकृत दौल्यालले भन्नुभयो ।

अब दुर्गाथली–३ को रकैल सडक सञ्जालसँग जोडिन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुर्गाथली गाउँपालिकाभरि दर्जनभन्दा बढी ठाउँमा सडक बनेको छ । यी सडकको स्तरोन्नित गर्नका लागि पालिकाले १ करोड ११ लाख रुपैयाँको लागतमा एक्स्काभेटर किनिसकेको छ । केही सडक प्रदेश सरकारको लगानीमा बनेको छ ।’

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया