बझाङ : आँखै अघि टेलिकमका टावर, तर एक कल फोन गर्न डाँडाकाँडा चाहार्नु पर्ने बाध्यता

 मंसिर ३०, २०८० शनिबार १६:२६:३३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा आँखै अघि नेपाल टेलिकमका टावरहरु छर्लङ्गै देख्न सकिन्छ । तर, मोबाइलमा नेटवर्क खोज्नका लागि भने अग्ला, अग्ला डाँडा, घरको छत तथा अर्को गाउँमा पुग्नु पर्ने बाध्यता भने टरेको छैन । 

गाउँको कोही व्यक्ति बिरामी पर्‍याे भने फोन गरेर स्वास्थ्यकर्मी तथा गाडी चालक वा धनीलाई सम्पर्क गर्न सकिँदैन । स्वास्थ्यकर्मी र गाडी चालकलाई खबर गर्न हातमा फोन भए पनि अर्को गाउँमा गएर फोन गर्नुपर्ने बाध्यता छ ।

एक कल फोनका लागि अर्को गाउँमा जानुपर्ने बाध्यता खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ को हो । यहाँबाट हेर्दा थलारा गाउँपालिका र खप्तडछान्ना गाउँपालिकाको सिमाना बाँताको लेकमा सबैभन्दा ठूलो टेलिकमको टावर देख्न सकिन्छ । तर, यहाँका स्थानीय भने टावर हेर्दै फोन गर्न अर्को गाउँमा जानुपर्ने बाध्यतमा छन् । 

यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ६ र ७ को सिमाना मष्टा माण्डौमा समेत टेलिकमले टावर जडान गरिएको छ । यस्तै वडा नम्बर ४ को चौका माथि नेटाकाटियामा समेत टेलिकमको टावर देख्न सकिन्छ । तर यहाँका स्थानीय बासिन्दाले भने मोबाइलमा नेटवर्क नआएका कारण निकै कष्ट खेप्नु परेको स्थानीय समाजसेवी मेखराज रावलले बताउनुभयो 

‘गाउँबाट र घरको झ्यालबाट समेत सबै टावर देख्न सकिन्छ तर मोबाइलमा नेटवर्कले भने काम गर्दैन । एक कल फोन गर्नका लागि यहाँका सबै नागरिकहरुले अग्लो, अग्लो डाँडाकाँडा, घरका पाखा(छतहरु) मा र आधा एक घण्टाको पैदल यात्रा गरेर अर्को गाउँसम्म पुग्नु पर्ने अवस्था रहेको छ । टावर देखेर के गर्नु मोबाइलमा नेटवर्क आउँदैन, उहाँ भन्नुहुन्छ, ‘अहिले फोर जी को समय भन्छन् । हामीलाई एक कल फोन गर्नका लागि पनि तड्पिनु पर्ने अवस्था छ । गाउँमा वा घरमा कोही दु:खी बिरामी परेको खण्डमा वा केही दुर्घटना भएको खण्डमा सरोकारवाला निकायलाई फोन गर्नका लागि समेत समस्या छ ।’ यस विषयमा सरोकारवाला निकायले चासो नदिएको उहाँको आरोप छ ।

गाउँमा कोही महिला सुत्केरी भएर स्वास्थ्यकर्मीलाई खबर गर्न पर्‍याे भने मोबाइलमा नेटवर्क हुँदैन । स्वास्थ्यकर्मीलाई खबर गर्न मानिसलाई कुदाउनु पर्छ । इमर्जेन्सीमा गाडीमा कसैलाई जिल्लासम्म पुर्‍याउन पर्‍याे भने गाडी धनी वा चालकलाई फोन गर्न पर्‍याे भने समस्या खेप्नु पर्ने अवस्था छ ।

बिरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने परिस्थिति आउने गरेको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गौरी अधिकारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो विषयमा हामीले नेपाल टेलिकम दूरसञ्चार कार्यालय बझाङ, दूरसञ्चार क्षेत्रीय कार्यालय हुँदै केन्द्रीय कार्यालयसम्म पत्राचार गरी सकेका छौँ । तर टेलिकमले चासो दिँदैन । अब फेरि अर्को ठाउँमा टावर जडान गर्ने भन्ने कुरा सुनेकी छु । कहिले सर्भे गर्ने हुन् जानकारी सम्म पनि छैन । तर भर नभएको उहाँले बताउनुभयो । 

यो समस्या एउटै खप्तडछान्ना गाउँपालिकाको मात्रै नभइ जिल्लाको विकट साईपाल गाउँपालिका वडा नम्बर ४ को धुलीमा समेत छ । नेपाल टेलिकमले वडा नम्बर १ र २ को नाङ्नाको डाँडामा टावर जडान गरेको छ । तर सामान्यतया आकाशमा बादल लाग्दा, पानी पर्दा र हिमपात हुँदा नेटवर्कबाट सम्बन्ध विच्छेद हुने गरेको छ । यहाँका नागरिकहरुले समेत नेटवर्कले काम नगर्दा हजारौँ समस्या झेल्दै आउनु परेको साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।  टेलिकमले यसको स्तरोन्नति गर्न जरुरी रहेको समेत उहाँले बताउनुभयो । 

यता खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले यस विषयमा पालिकाले दूरसञ्चार कार्यालय नेपाल टेलिकमका सबै जिल्ला, प्रदेश र केन्द्रीय कार्यलयसम्म पत्राचारदेखि समस्याका बारेमा पटक पटक जानकारी गराएको बताउनुभयो । कार्यालयबाट समेत केही दिनमा प्राविधिक पठाएर टावरहरु पुन सञ्चालन गर्ने आश्वासन पाए पनि काम भने नभएको बताउनुभयो । पालिकाले यसमा पहल मात्रै गर्ने भएका कारण प्राविधिक कुरा पालिकालाई जानकारी नभएको रोकायाको भनाइ छ ।

यता नेपाल टेलिकमदूरसञ्चार कार्यालय बझाङका कार्यालय प्रमुख बम बहादुर सिंहले सबै टेलीकमका टावरहरुमा विद्युत् आपूर्ति हुन नसकेका कारण यस्तो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै जस्तो जडान गरेका टावरमा विद्युत् आपूर्ती तथा ब्याट्रीको समस्या छ ।  अन्य प्राविधिक समस्याका कारण नेटवर्कले काम नगर्ने र काम गरेको ठाउँमा पनि राम्रोसँग काम नगर्ने वातावरण रहेको स्वीकार गर्नुभयो ।’

उहाँले यसका लागि कार्यालले क्षेत्रीय कार्यालयमा समस्याका बारेमा पुनः मर्मत सम्भारका विषयमा पत्राचार गर्दै आएको बताउनुभयो । अहिले जिल्लामा खप्तडछान्ना गाउँपालिकाका टेलिकमका टावरमा मात्रै समस्या नभइ साईपाल गाउँपालिका, बुंगल नगरपालिकामा जडान गरिएका टावरमा पनि समस्या देखा परेको गुनासो कार्यालयमा आएको बताउनुभयो । उहाँले अहिले जिल्लाभरी २२ वटा टावर सञ्चालनमा रहेको र ३ वटा टावर निर्माणाधीन अवस्थामा रहेका तथा ८ वटा सर्भे भएको समेत जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया