अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसमा सप्ताहव्यापी कार्यक्रम

 पुस २, २०८० सोमबार ७:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै यससँग सम्बन्धित निकायहरूले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवसको पहिलो दिन आज मन्त्रालयले आप्रवासनको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्दैछ ।

आप्रवासी श्रमिकमाथि हुनसक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ । यो वर्ष आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको छ ।

श्रमिकको हक, अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कार्यान्वयन नहुँदा उनीहरुले आफ्ना हकअधिकार उपभोग गर्न पाएका छैनन् । आप्रवासी श्रमिकले पारिश्रमिक तथा सेवासुविधामा विभेद खेप्नु परेको छ । एउटा भनेर अर्को काममा लगाउने, तोकिएको तलब सुविधा नदिनेलगायतका समस्या पनि उस्तै छ ।

खाने, बस्नेलगायतका आधारभूत आवश्यकता समेत पाउन नसकेको कतिपय श्रमिकको गुनासो छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान महत्त्वपूर्ण छ । अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारी नीति भए पनि त्यसअनुसार काम हुन सकेको छैन ।

श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले  मर्यादित श्रमसहितको रोजगारीको सुनिश्चितता, श्रम सम्झौता पुनरावलोकनका साथै नयाँ श्रम गन्तव्य मुलुकको पहिचान, अनलाइनमार्फत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान, वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध, वैदेशिक रोजगार सम्बन्धी गुनासो तत्काल सुनुवाइ लगायतका काम भैरहेको बताउनुभयो ।

विदेशका नेपाली दूतावासमा राखिएका श्रमिक हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाइने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया