खाडी देशमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ : विज्ञ

 पुस ६, २०८० शुक्रबार १४:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – विज्ञहरूले खाडी देशमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसरमा आज शुक्रवार काठमाण्डौमा आयोजित कार्यक्रममा विज्ञहरूले सरकारसँग यस्ताे माग गरेका हुन् । कार्यक्रममा श्रमविज्ञ रामेश्वर नेपालले नियन्त्रण गर्नसक्ने अवस्था नभएकाले सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताउनुभयो । उहाँले खाडी देशमा घरेलु कामदारको रूपमा महिला पठाउने कुरालाई सरकारले फुकुवा गर्दै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपालले भन्नुभयो, ‘हाम्रो आफ्नै श्रमसम्बन्धी कानुनमा नियन्त्रण छैन । हामीले बनाएर नीतिहरू कार्यान्वयन गर्न सकिरहेका छैनौँ । मजदुरमैत्री कानुन छैन । महिलालाई वैदेशिक रोजगारीमा जानका लागि लगाइएकाे प्रतिबन्ध आपत्तिजनक छ । यो कुनै हालतमा स्वीकार्य हुँदैन ।’

सत्तारूढ नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले नेपाली महिला कामदार वैदेशिक रोजगारीमा जानुको कारणबारे खोजी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा नै महिला श्रमिकले ठूलो पीडा भोग्नुपर्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्नका लागि सरकारलाई गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

सांसद कोइरालाले भन्नुभयो, ‘नेपालका श्रमिक यहाँबाट बाहिर जानुपर्ने कारण के हो भनेर खोज्न जरुरी छ । यहाँ काम पाउँदा पाउँदै श्रमिक किन बाहिरकै काममा गइरहेका छन् ? हामीले यो पनि खोज्नु छ ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) काे निमय पालना नगर्ने देशहरूमा घरेलु कामका लागि महिलालाई पठाउने कुरा उपयुक्त नहुने बताउनुभयो । उहाँले त्यहाँ गएर आएका महिलाको पीडालाई पनि सम्बोधन हुनेगरी निर्णय लिनुपर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक उप्रेतीले भन्नुभयो, ‘खाडी देशमा गएर आएकाहरू काेही पनि महिला कामदारलाई त्यहाँ पठाउने पक्षमा हुनु हुन्न । घरेलु कामदार पठाउने कुरामा त झन् कठोर बन्नुभयो । त्यहाँ गएका कामदारले पीडा भोग्नुभएको छ अनि हामीले हाम्रा चेलिबटीहरू लुकेर जाने थाले, छिटो खुलाई दिनुपर्‍याे भन्न मिल्दैन ।’

कार्यक्रममा आप्रवासी महिला समूहकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले खाडी देशमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध फुकाउने विषयमा सरकारलाई सुझाव दिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया