विदेश पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

 पुस २४, २०८० मंगलबार १८:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि पोल्यान्ड, सर्बिया र मलेसियामा पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

सरिता घलानसहितका व्यक्तिलाई सर्बिया पठाइदिन्छु भनेर आठ लाख ९० हजार रुपैयाँ लिएर फरार भएका उदयपुरको कटारी घर भएका विकास कुमार घले र सञ्जय लामालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यस्तै पोल्यान्ड पठाइदिन्छु भनी दुई लाख १५ हजार रुपैयाँ ठगी गर्ने दोलखाको भीमेश्वर घर भई अहिले काठमाण्डौ बस्ने पूजा श्रेष्ठ पनि पक्राउ परेकी छिन् । उनले पोल्यान्ड जान साढे आठ लाख रुपैयाँ लाग्छ र गएपछि मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर ठगेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट घर भई काठमाण्डौ बस्ने बिन्दालाल साह पनि पक्राउ परेका छन् । उनले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी रकम लिएर सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया