माघे सङ्क्रान्तिका लागि चाकुको माग बढ्यो, टोखाका उद्यमीलाई भ्याइनभ्याइ (तस्बिरसहित)

 पुस २८, २०८० शनिबार ११:१:५८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ ।

खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको टोखाका चाकु उद्यमीलाई भ्याइनभ्याइ छ । टोखामा १५/१६ वटा चाकु उद्योग सञ्चालनमा छन् । उनीहरुले माघे सङ्क्रान्तिका लागि मङ्सिरदेखि नै चाकु बनाउन थालेका हुन् । चाकु उद्यमी सन्तमाया श्रेष्ठका अनुसार विगतका वर्षहरुमा भन्दा यो वर्ष चाकुको व्यापार राम्रो छ । माग धान्न मुश्किल परेको उहाँ बताउनुहुन्छ ।

सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि बन्ने चाकु माघे सङ्क्रान्तिमा परिकारको रुपमा खाने गरिन्छ । अरु बेला पनि चाकु बनाउने गरेको तर माघे सङ्क्रान्ति नजिकिएसँगै माग उच्च हुने गरेको टोखा चाकु संरक्षण समितिका उपाध्यक्ष बुद्ध श्रेष्ठले बताउनुभयो ।

चाकु उपत्यकाभित्र र बाहिर खपत हुने गरेको छ । उद्यमीका अनुसार पछिल्लो समय अमेरिका, युरोप, अष्ट्रेलिया र चीनलगायतका देशमा समेत चाकु जाने गरेको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार अहिले चाकुको माग धेरै तर सीमित उद्यमी भएकाले भ्याइनभ्याइ छ । उहाँका अनुसार विगतमा चाकु परम्परागत रुपमा नै बनाउने गरिएको भए पनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको छ । तर चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न केही समस्या हुँदै आएको उद्यमी सन्तमाया श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकु उत्पादनको काम गरेको चार पुस्ता भएको र अहिलेसम्म टोखाको चाकु बिक्री नभएको भन्ने अवस्था नरहेको बताउनुभयो ।

पोषणविद्का अनुसार चाकुले शरीरलाई ताप र शक्ति दिने तथा सुत्केरीले पनि खान मिल्ने भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ। माघे सङ्क्रान्तिमा घिउ र चाकुको परिकार खाने चलन छ । माघ एक गतेमात्र नभएर जाडोमा अरु बेला पनि चाकु खान सकिने पोषणविद् डा. अरुणा उप्रेतीले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया