साउदीको बसाइ... कष्टकर जीवन भोगाइ

 माघ १२, २०८० शुक्रबार १८:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दिनेश यादव/धनुषा

म अहिले वैदेशिक रोजगार सिलसिलामा साउदी अरेबियामा छु । मेरो घर धनुषाकाे शहीदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहा हो । म वैदेशिक रोजगारमा आएको तीन वर्ष भयो । यो तीन वर्षमा मैले धेरै उतारचढाव खेपेँ ।

सोच थियो, देशमै बसेर काम गर्छु । घरको व्यवहारमा परिवारलाई सघाउँछु । आमाबुवा र परिवारको रेखदेख गर्छु । तर जीवन सोचेको जस्तो कहाँ पो हुन्छ र ? ऋणले थलिएर घरमा चुलो बाल्नै गाह्रो पर्न थालेपछि विदेश जानेभन्दा अर्को विकल्प देखिनँ । मैले वैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । परिवारले मन अमिलो बनाउँदै मेरो निर्णयलाई स्वीकार्‍याे । मेराे विदेश जाने तयारी शुरु भयो । म्यानपावर कम्पनी खोजेँ । म्यानपावरले आम्दानी राम्रो हुने एक्स्काभेटर अपरेटरको काम छ भनी साउदीको कम्पनीबारे बतायो । घरको आर्थिक अवस्था उकासिने आशले मेरो मन दङ्ग थियो । आखाँहरू सपना बुन्दै थिए ।

सन् २०२० मा म साउदी आएँ । नयाँ ठाउँ । परिवारबाट टाढा । मन बिझेको थियो । परिवारलाई आर्थिक भारबाट निकाल्छु भन्ने अठोट दह्रो थियो । तर सपना पूरा गर्ने खुसी क्षणभरमै टुट्यो । न त्यहाँ म्यानपावरले भनेको कम्पनी थियो न एक्स्काभेटर । पुग्ने बित्तिकै मेरो बिजोग भयो । त्यही बेला कोरोना भाइरस आयो । म कहाँ के गर्ने सोच्नै नसक्ने भएको थिएँ म । त्यहाँको हाकिमलाई साउदीमा कफिल भन्दो रहेछ । उसले मलाई खेतमा लेबरको काममा लगायो । म बस्दिनँ भन्दा ‘१३ हजार साउदी रियाल तिर् अनि जा’ भन्यो । याे भनेकाे त्यति बेला नेपाली ३ लाख ९० हजार रुपैयाँ हुन्थ्यो ।

पैसा कमाउन ऋण लिएर साउदी पुगेको म... केही नगरि यत्तिकै घर फर्किएँ भने... आमाबुवा सम्झिएँ । घरमा अन्नपानी मिलाउन हम्मेहम्मे परेको अवस्था सम्झिएँ । केही समय मन भारी भयो । मसँग त्यहाँको परिस्थिति स्वीकार गर्नुभन्दा बाहेकको विकल्प भएन । काम थालेँ । दुःख त्यतिमै रोकिएन । कोरोनाका कारण चार महिनाको तलब पाइनँ । त्यो समय सम्झिँदा अहिले पनि आँसु थामिँदैन । एकातिर घरको ऋण... ब्याज बढ्छ भनेर चिन्ता हुन्थ्यो । अर्कोतिर खान बस्न गाह्रो हुन थाल्यो । नेपाल र साउदीमा रहेका सबै निकायहरू गुहारेँ । कहीँबाट केही नहुने बुझेपछि दुई महिना जति पसलबाट उधारो खाना खाएँ । कोरोना कम भएपछि तलब त आयो तर सबै तिरेरै सकियो ।

सन् २०२२ सकिन लाग्दा मैले कफिल (साउदीको हाकिम) लाई मलाई घर जान मन भएकोले 'एक्जिट' अर्थात् देश छोड्नका लागि दिइने इजाजतपत्र दिन भनेँ । उसले मानेन । मैले केही समय बिदा बस्न दिन अनुरोध गरेँ । उसले एक वर्षपछि मात्र बिदा दिने कुरा गर्‍याे । त्यस बेला मेरो इकमा (परिचयपत्र) पनि सकिन दुई दिन बाँकी थियो । मैले आफूलाई सहज हुने विकल्प खोजेँ । साउदीमै भागेर आफ्नो तनाजुल अर्थात् सरुवा गराएँ । त्यस बेला मैले भनेको जस्तो 'फर्कलिफ्ट अपरेटर' को काम पाएँ । तलब २८०० रियाल । मेरो दिनहरू बल्ल राम्रा हुन थाले । कम्पनीमा १० महिना काम गरेर बिदामा घर आएँ । अहिले ऋण सबै तिरिसकेँ । मेरो घरको स्थिति सुध्रिएको छ । तर परिवारको भविष्यको पिरले सताउँदो रहेछ । हुन त साउदीको बसाइ सजिलो छैन । साउदीमा एउटा कुरा केही गरे छोड्न मिल्दैन जसलाई 'लाइन' भनिन्छ । बिहान उठेर शौच गर्नदेखि राति खाना खानसम्म 'लाइन' बस्नुपर्छ । मेरो परिवारको उज्ज्वल भविष्यका लागि साउदीमा जति नै 'लाइन' बस्नुपरे पनि मलाई मञ्जुरी छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया