पालुङ्गो साग बेचेर नवलपरासीका महतो दम्पतीले ३ महिनामै ३ लाख रुपैयाँ आम्दानी गर्दै

 फागुन ६, २०८० आइतबार १५:९:३५ | रासस
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गो (खोले) सागखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गो सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैते धान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो । पालुङ्गे सागमा सामान्य जैविक मल प्रयोग गर्ने गरेको र चैते धानभन्दा यसले जीविकोपार्जनमा राहत पुर्‍याएको उहाँको भनाइ छ ।

महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाख रुपैयाँसम्म आम्दानी गर्नुभएको छ । माघमा मात्र पहिलो पटक काटिएको सागबाट ८० हजार रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलो पटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो ।

गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एक पटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने हुँदा किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया