२३ दिन पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाण्डौमा

 फागुन १०, २०८० बिहीबार ७:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाण्डाै आइपुगेका छन् । न्याय मार्चका लागि भन्दै उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । त्यसपछि फागुन ३ गते चितवनको नारायणगढमा भेला भएर काठमाण्डौतर्फ लागेका हुन् ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूका समस्या समाधान नभएको भन्दै उनीहरूले फेरि यात्रा थालेका हुन् ।

आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताउनुभयो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया