रातमा अनावश्यक उज्यालोले समस्या ल्याउँछ

 फागुन ३०, २०८० बुधबार १३:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

आधुनिक जीवनशैलीसँगै प्रकाशको प्रदूषण पनि बढिरहेको छ । सहरका ठूला भवन तथा सडकसँगै ग्रामिण बस्तीमा पनि रातको उज्यालो बढिरहेको छ । अत्याधिक चहकिला बत्ती रातभर बालेर छाडिदिने चलन बढ्दै जाँदा प्रकाश प्रदूषणका कारण हुने असरबारेमा चिन्ता थपिँदै गएको छ । रातमा अनावश्यक चहकिला बत्ती बाल्दा मानव स्वास्थ्यसँगै विभिन्न जीवजन्तुहरु सङ्कटमा पर्न थालेका छन् । यही विषयमा भोजेन्द्र बस्नेतले नेपाल अस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवम् डार्क स्काइ नेपालका संयोजक सुरेश भट्टराईसँग गरेको कुराकानी : 

प्रकाश प्रदूषण भनेको के हो ?

प्रकाश प्रदूषण भन्नाले प्रकाशको समुचित प्रयोग नगर्नु हो । नचाहिने ठाउँमा प्रकाशको प्रयोग गर्नु हो । तुलनात्मकरुपमा विश्व मानचित्रमा नेपालमा त्यति धेरै प्रकाश प्रदूषणको समस्या भैसकेको छैन । तर पनि त्यो समस्या बिस्तारै आउन थालेको देखिन्छ । त्यसको सङ्केतहरु हेर्दा यदि हामी सचेत भएनौँ भने ठूलो समस्या आउन सक्छ । 

कस्ता ठाउँहरुमा बढी प्रकाश प्रदूषण देखिन्छ ?

सहर हुँदैमा प्रकाश प्रदूषण हुने र गाउँ हुँदैमा नहुने भन्ने होइन । प्रकाशको समुचित प्रयोग गर्नु पर्‍याे । हामीलाई अँध्यारोमा उज्यालो चाहिन्छ । तर त्यसको सही तरिकाले गर्न सक्यौँ भने सहरमा पनि व्यवस्थित गर्न सकिन्छ । त्यस्तै गाउँमा पनि राम्रोसँग प्रयोग गरिएन भने प्रकाश प्रदूषण हुन सक्छ । दिउँसोमा प्राकृृतिकरुपमा पनि हामीसँग सूर्य छ । विशेषगरि रात्रिकालीन समयमा व्यवस्थित नहुँदाको बढी समस्या हो । म अस्ट्रोनोमिकल सोसाइटीसँग आबद्ध छु । हामीले सन २०१२ देखि नै आवाज उठाउँदै आएका छौँ । हाम्रो आकाशमा अँधेरी रात जोगाउनुपर्छ र जथाभावी प्रकाशको प्रयोग गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो । 

झट्ट हेर्दा कालो, अँध्यारो आकाश किन जरुरी छ भन्ने जस्तो लाग्न सक्छ । तर यो अति जरुरी छ । त्यस्तै कतिपयलाई अँध्यारोमा असुरक्षा, चोरी र डकैती हुन्छ जस्तो लाग्न सक्छ । त्यसको आफ्नो पाटो पनि होला । अँध्यारो मात्रै बनाउनु पर्छ भन्ने होइन, आवश्यक मात्रामा प्रयोग गर्नु पर्छ भन्ने कुरा हो । नेपालमा हामीले बगैँचामा बत्ती राख्दा आकाशतिर फर्काएर राख्ने गर्छौं । त्यस्तै बाटोमा उज्यालो चाहिन्छ भनेर बत्ती राख्छाै तर त्यसलाई ढकनी लगाएर भुइँतिर फर्काएर राख्दा केही व्यवस्थित हुन्छ। त्यसैले त्यस्ता खालको प्रविधिहरुको पनि हामीले प्रयोग गर्न सक्छौँ । कतिपय मान्छेहरुले बत्ती नबालेर अँध्यारोमा बस्ने भनेर पनि प्रश्न गर्नु हुन्छ । त्यसो होइन, हामीले रात्रिकालीन आकाशलाई संरक्षण गर्नुपर्छ भन्ने हाम्रो अभियान नै हो । हामीले यसका असर, फाइदा–बेफाइदा पत्ता लगाएर जनचेतना गर्नु पर्ने आवश्यकता ठानेर जनचेतनाको प्रयास पनि गर्दै आएका छौँ ।

प्रकाश प्रदूषण के के कारणले गर्दा हुन्छ ?

हामी बिजुलीको उज्यालोमा भर्खर भर्खर बानी पर्न थालेका छौँ । हामीलाई धेरै उज्यालो बनाए राम्रो हुन्छ जस्तो लाग्छ, तर त्यसो होइनन् । बगैँचामा यत्तिकै बत्ती आकाशतिर फर्काएर राख्नु र ढकनी लगाएर बत्ती राख्नुमा धेरै फरक पार्छ । हामीले खगोलीय अध्ययन अनुसन्धान गर्दैछौँ भने त्यो एउटा बत्ती आकाशतिर फर्काउँदाको अनुसन्धानले धेरै कुरामा असर गर्दछ । अहिले नेपालमा देखिएको मुख्य समस्या घर बाहिरको बत्तीको हो । अहिले सहरबजारमा सौन्दर्यीकरणको नाममा विभिन्न पोलमा बत्ती बेरेर उज्यालो बनाउने गरिन्छ, जसले व्यापक रुपमा प्रकाश प्रदूषण गर्दछ । अग्ला डाँडामा बत्ती बालेर उज्यालो बनाउनु आवश्यक हुँदैन । विशेषगरी अनावश्यक ठाउँमा, अनावश्यक क्षमताका बत्ती विभिन्न रङ्गमा बाल्नाले प्रकाश प्रदूषण हुने गरेको देखिन्छ । 

प्रकाश प्रदूषणले कस्ता असर गरेको पाइन्छ ? 

पृथ्वीमा दिनरातको चक्र छ । अर्बौं वर्षदेखि सूर्य, जुन र तारा मिलेर यहाँ प्रकाशको सन्तुलन गरिरहेका छन् । तर रातमा अनावश्यक उज्यालो बनायौँ भने त्यो सन्तुलन खल्बलिन थाल्छ । प्रकाश प्रदूषणले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भनेर नेपालमा खासै अध्ययन नभए पनि विश्व परिवेशलाई हेर्दा प्रकाश प्रदूषणले सिधै असर गर्ने क्यानसरजन्य रोगहरु निम्ताउने हो । हर्मोनल गडबडीले महिलामा स्तन क्यान्सर धेरै देखिन्छ । यसले प्राकृतिक संरचनालाई खलबल्याउँछ । जस्तै रात्रिकालीन जनावर, किटपतङ्गहरुलाई असर गर्छ । काठमाण्डौबाट जुनकिरी हराएको तथा लाटोकोसेरो देखिन छाडेको कुरा त हामीले देखे भोगेकै छौँ ।

अर्को कुरा हामीले अनावश्यक रुपमा बिजुलीको शुल्क तिर्न बाध्य भइरहेका हुन्छौँ । गाउँघरका बुढापाकालाई सोध्यौँ भने हिजो के थियो आज के छ भन्ने कुराको ठ्याक्कै असर थाहा हुन्छ । त्यहाँ चराहरु नआएका होलान, त्यहाँ किरा फट्याङ्ग्राहरु नआएका होलान, जनावरहरु आउँदैन होला । कतिपय अवस्थामा उज्यालोले जङ्गली जनावरहरु आउँदैनन् भन्ने लागेको पनि होला । तर त्यसका अरु निराकरणका उपायहरु पनि छन् । जसले गर्दा जङ्गली जनावरको बासस्थान पनि बिग्रँदैन । अहिले धेरै जीवको प्रजनन क्षमतामा प्रकाश प्रदूषणले असर गरिरहेको छ । हामीले  प्राकृतिक संरचनालाई नखलबलाइ पृथ्वीमा बस्न सक्छौँ। अहिले सौन्दर्य बढाउने नाममा लाखौँलाख बजेट नै छुट्टाएर पालिकाहरुले यस्ता काम गरेका छन । जुन अनावश्यक र स्रोतको दुरुपयोग हो । बरु त्यो बजेटबाट प्रकाश प्रदूषण रोक्नेबारे सचेतना कार्यक्रम गरे हुन्थ्यो । त्यसो गर्दा प्रकृति पनि जोगिने मान्छे पनि सचेत हुने हुन्थ्यो । त्यसले खगोल विज्ञानलाई टेवा पुग्ने थियो होला ।

खगोलमा प्रकाश प्रदूषण धेरै हुँदा के समस्या हुन्छ ?

प्रकाश प्रदूषणले अवलोकन गर्न समस्या हुने हो । विश्वमा धेरै विकसित देसहरुबाट आकाश, तारालाई राम्रोसँग हेर्न सकिँदैन । पृथ्वीको विभिन्न देशका ८० प्रतिशत भन्दा बढी भूूभागहरुबाट रात्रिकालीन आकाश अवलोकन गर्न समस्या छ । हाम्रो तारापुञ्ज आकाशगङ्गा हो । अझैसम्म नेपालको त्यो अवस्था त छैन । तर यसैगरी बिजुलीको उज्यालोलाई उत्तम ठान्दै गयौँ भने समस्या आउन सक्छ । यस्तै नेपाल खगोलीय पर्यटनको सम्भावित  क्षेत्र हो । अँध्यारो रात जोगायौँ भने हाम्रोमा खगोलीय पर्यटक बढ्न सक्छन् ।

प्रकाश प्रदूषण न्यूनीकरण गर्न के गर्न सकिन्छ ?

प्रकाश चाहिने र समुचित तरिकाले प्रयोग गर्न सके राम्रो हुन्छ । नेपालमा यस विषयमा चर्चा परिचर्चा हुन लागेको छ  । प्रकाश प्रदूषणको असरको पनि विचारविमर्श गर्न थाल्नु राम्रो कुरा हो । हामीलाई पनि खुसी लागेको छ । प्रकाश थप प्रदूषण हुन नदिने अर्थात नियन्त्रण गर्ने मानकहरु बनाउन सक्छौँ । जस्तै कस्तो खालका बत्ती प्रयोग गर्ने, कस्तो ठाउँमा प्रयोग गर्ने, कतिबेला प्रयोग गर्ने भन्ने कुराहरुमा हामी सचेत भयौ भने धेरै हदसम्म प्रदूषणलाई नियन्त्रण गर्न सक्छाैँ ।

हाम्रो देशमा पनि विद्युतको उत्पादन बढ्दैछ। त्यही अनुसार खपत पनि बढ्दै जानसक्छ । त्यस्तो बेलामा हामी पारिस्थितीय प्रणाली बिगार्ने कुरामा अगाडि नै संयमित भएर प्रयोग गर्नु पर्छ । अहिले नेपालमा वायु प्रदूषणको मात्रै नीति बनेको छ तर त्यो पनि प्रयाप्त छैन । अझै अरु नीति थुप्रै बन्न बाँकी छ । कागजी कुरामा मात्रै गरेर भन्दा पनि जनसमुदाय सचेत भएर समुचित प्रयोग गर्‍याैँ भने धेरै हदसम्म राम्रो हुन्छ । प्रकृतिले बनाएको नियमको पालना गर्‍याैँ भने आफ्नो पनि जीवन स्वस्थ बनाउन सक्छौँ । अनि अरु जीवहरुको पनि जीवनमा कम नोक्सानी पर्न सक्छ । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया