मलेसियाका दुई कम्पनीमा नेपालीहरूले भोगेको समस्या समाधान भइसक्यो : दूतावास

 पुस २६, २०७९ मंगलबार १२:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाको दुई कम्पनीमा समस्यामा परेका नेपालीको सम्बन्धित कम्पनी, म्यानपावर र त्यहाँको सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गरिएको क्वालालम्पुरमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनीमा काम गर्ने १३ जना र कुखुरा आपूर्ति गर्ने कम्पनीका २८ जना नेपाली श्रमिकको म्यानपावर कम्पनी, रोजगारदाता, मलेसियन प्रहरी लगायत सँगको समन्वय र छलफलमा समस्या समाधान गरिएको हो । 

प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनी पीआरएस फारेस्ट म्यानेजमेन्ट कम्पनीमा रोजगारीका लागि पुगेका १३ जना नेपालीहरूले करार अनुसार काम तथा तलबसहित सेवा सुविधा पाएका थिएनन् । श्रमिकले दूतावासमा गुनासो गरेपछि समस्याका बारेमा दूतावासले कम्पनीलाई पत्राचार गरेको थियो । 

त्यसपश्चात् ३० डिसेम्बर २०२२ का दिन उनीहरूलाई पठाउने म्यानपावर कम्पनीका प्रतिनिधि, रोजगारदाता र श्रमिकहरू स्वयमसँग छलफल गरिएको दूतावासले जनाएको छ ।

छलफल पश्चात् १३ जनालाई नै स्वदेश फिर्तीका लागि चेक आउट मेमो र हवाई टिकटको व्यवस्था नहुदासम्मका लागि खाने बस्ने व्यवस्था पनि गरिएको दूतावासले जानकारी दिएको छ । उनीहरू मध्ये ६ जना आज मंगलबार स्वदेश फर्कंदैछन् भने बाँकी ७ जना आउँदो शुक्रबार स्वदेश फर्कने निश्चित भइसकेको छ । 

यस्तै मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ टिज इनरप्राइजेज कम्पनीमा २८ जना नेपालीहरूमाथि काम गर्ने सिलसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको दूतावासले जनाएको छ ।

उनीहरू यो कम्पनीमा रोजगारीका लागि ८ सेप्टेम्बर २०२२ मा पुगेका थिए । कुटपिट भएपछि कम्पनीबाट निकालेर अन्यत्र ठाउँमा राखेको गुनासो म्यानपावर कम्पनीका प्रतिनिधि र श्रमिकले दूतावासमा राखेका थिए । 

३ जनवरीमा श्रमिकको समस्या आएपछि दूतावासले त्यसै दिन प्रहरीमा उजुरी गरेको थियो । श्रमिकमाथि कुटपिट गर्नेलाई मलेसियन प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । 

श्रमिकको समस्या समाधानमा भने दूतावासले रोजगारदाता र म्यानपावरका प्रतिनिधिसहिते छलफल गरेको थियो । छलफलमा श्रमिकको चाहना अनुसार घर फर्कन चाहनेलाई घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गर्ने प्रतिबद्धता रोजगारदाता कम्पनीले गरेको छ । 

जसअनुसार ९ जना नेपाली पुनः त्यही काममा फर्किएका छन् भने ७ जना बुधबार स्वदेश फर्कँदै छन् । बाँकी १२ जनाको हकमा भने नेपाल फर्कने वा रोजगारीमा फर्कने भन्ने यकिन भई नसकेको र उनीहरूको चाहना अनुसार नै प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ । 

तपाईको प्रतिक्रिया