वैदेशिक रोजगारीको नाममा बढ्यो मानव तस्करी, अमेरिकाबाट मात्रै फर्काइए १७८ नेपाली

 असार १४, २०८० बिहिबार १७:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ –   दुई वर्षअघि २०७८ साल असार पाँच गते क्यारेबियन सागरमा डुङ्गा पल्टिदा अमेरिका हिँडेका सात नेपालीले ज्यान गुमाए । 

ज्यान गुमाउनेमा दाङका दुई जना, बाँकेका एक जना, पर्वतका दुई जना, स्याङ्जाका १ जना र नाम थर नखुलेका अर्का एक नेपाली थिए । 

अमेरिकी सपना पछ्याउँदै एजेण्टको भरमा लाखौँ रुपैयाँ खर्च गरेर कोलम्बियाबाट पानामा जाने क्रममा फेरि गएको वर्ष २०७९ कात्तिक २५ गते क्यारेबियन सागरमा डुङ्गा दुर्घटनामा परी रुकुम पश्चिमका दुई जना र प्युठानको एक जना गरी तीन नेपाली युवा सागरमा बेपत्ता भए । 

२०७९ पुसमा अवैध तरिकाले अमेरिका जान लागेका रुकुम पश्चिमकै अर्का एक युवाको पानामाको जङ्गलभित्र रहेको एक खोला किनारमा शव भेटियो ।

यी त उदाहरण मात्रै हुन् । पछिल्ला केही वर्ष यता अमेरिका जाने आसमा कयौँ युवाहरू जङ्गलमै अलपत्र परेका छन् त कतिपय अमेरिका हिँडेकाहरूको अवस्था कस्तो छ भनेर सरकार त परको कुरा स्वयम परिवारसमेत अनभिज्ञ छ ।

पछिल्लो अमेरिका, युरोप लगायतका देशमा रोजगारीको नाममा मानव तस्करी बढेको पाइएकाे छ । तर नेपालमा मानव तस्करी सम्बन्धी छुट्टै कानुन नहुँदा यो विषयलाई सम्बोधन गर्न भने समस्या भएको छ । 

अमेरिकाबाट मात्रै फर्काइए १७८ नेपाली

मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले अमेरिकाबाट मात्रै मानव तस्करीमा परेका एक सय ७८ जना नेपालीलाई स्वदेश फर्काएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ४५ जना, २०७६/०७७ मा ८३ जना, २०७७/०७८ मा ३० जना, २०७८/०७९ मा १३ जना र चालु आर्थिक वर्षमा अहिलेसम्म ७ जना गरी विभिन्न गैरकानुनी रूपमा अमेरिका पुगेका एक सय ७८ जना स्वदेश फर्काइएको ब्युरोको तथ्याङ्क छ ।

यस्तै २०७९ वैशाखदेखि अहिलेसम्म वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन र मानव तस्करीमा पर्ने उच्च जोखिम भएका चार हजार एक सय ७३ जनालाई ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको छ ।

जसमध्ये गएको ६ महिना अर्थात् गएको वर्षको माघदेखि असारसम्ममा मात्रै तीन हजार १७१ जनालाई विमानस्थलबाट फर्काएको छ । यसरी फर्काइनेमा भिजिट लगायतका भिसामा खाडीका देश यूएई, ओमान, कुवेत, बहराइन हिँडेका तीन हजार एक सय एक, युरोपका देश हिँडेका ११ जना, गन्तव्य अमेरिका बनाएर अजरबैजान, अफ्रिकी देशहरू, र दक्षिण अमेरिकी देश हिँडेका १५ जना र पूर्वी एसियाका म्यानमार, लाओस्, कम्बोडिया र थाइल्यान्ड लगायतका देशमा हिँडेका ४४ जना रहेको ब्युरोको तथ्याङ्क छ ।

नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ छ । तर पछिल्लो समय जसरी वैदेशिक रोजगारीको नाममा मानव ओसारपसार भइरहेको त्यसलाई यो कानुनले परिभाषित नगर्ने वैदेशिक रोजगार विज्ञ तथा अधिवक्ता सोम लुइँटेल बताउनुहुन्छ ।

जसको कारण मानव तस्करी गर्नेलाई दण्ड सजाय र पीडितलाई कानुनी उपचारबारे कानुनी व्यवस्था नहुँदा समस्या हुने गरेको छ । 

मानव तस्करी हुनलाई एक देशबाट अर्को देशमा गैरकानुनी प्रवेश भएको हुने, गैरकानुनी रूपमा लैजाने व्यक्ति वा एजेण्टलाई लाभ भएको हुने र जाने मानिस समेत यो देशमा यसरी जाने हो र यो गैरकानुनी हो भनेर जानकार हुने बताउनुहुन्छ अधिवक्ता लुइँटेल । 

‘मानव तस्करीमा पीडित त्यसबारेमा जानकार हुन्छन् यदि प्रलोभनमा परिएको छ, झुक्क्याइएको छ भने त्यसलाई मानव बेचबिखनका रूपमा हेर्न सकिन्छ’ उहाँ भन्नुहुन्छ ‘नेपालको कानुनले मानव बेचबिखनलाई परिभाषित गरेको छ, तर अहिले भइरहेको मानव तस्करीलाई सम्बोधन गर्ने कानुन छैन र यो बनाउन आवश्यक छ ।’

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार अमेरिकी सपना पछ्याउँदै युरोप र अमेरिका पुग्नेमा धेरैजसो रुकुम पश्चिम र दाङका युवा रहेका छन् । 

तपाईको प्रतिक्रिया