विमानस्थलबाटै फर्काइएका श्रमिक भन्छन् : अब कुन मुख देखाएर घर फर्किनु

 असार २९, २०८० शुक्रबार १९:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका साथीहरू कुवेतमा काममा लागिसके । तर बागलुङको बुत्र्तिवाङका धनसिंह कार्कीलाई भने अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काइदियो । 

बिहीबार बिहान ७ बजेर १० मिनेटमा कुवेत एयरलाइन्समार्फत कुवेत उड्ने उहाँको टिकट थियो । सबैसँग बिदा मागेर बिहान पाँच बजे विमानस्थल पुग्नुभयो धनसिंह । साथमा दुई जना साथीहरू पनि थिए । साथीहरू बोर्डिङ पास लिएर भित्र पसे । अध्यागमनले केही भनेन । तर अध्यागमनका कर्मचारीले धनसिंहलाई रोके । 

‘सँगैका साथी सरासर भित्र छिरे, मलाई मात्र तपाईँ जान पाउनुहुन्न भनेँ’ धनसिंह भन्नुहुन्छ ‘के भयो भनेर एक छिन त मेरो सातो गयो, डर पनि लाग्यो ।’

साथमा सबै कागजात थियो । म्यानपावरले श्रम स्वीकृतिदेखि भिसाको कागजातसमेत दिएको थियो । त्यही कागजात हातमा बोक्नुभएको थियो । तर पनि एक्कासी अध्यागमनका कर्मचारीले रोकेपछि धनसिंह अचम्ममा पर्नुभयो । 

किन के भयो भन्ने प्रश्न गर्दा धनसिंहलाई अध्यागमनका कर्मचारीले दुई थरी जवाफ दिए ।

घरबाट पैसा कमाउन जाने भन्दै बिदाइ भएर खुसीका साथ आइयो, अब कुन मुख देखाएर घर फर्किनु ?’

‘कतिबेला भिसा देखिएन भने, कतिबेला श्रम स्वीकृति नै लिएको देखिएन भने, सबै कुराहरू छ त अनलाइनमै देखिन्छ भन्दा उल्टै बढी बोल्छस्, प्रहरी बोलाइदिउँ भन्दै धम्क्याए’ धनसिंहले निराश हुँदै भन्नुभयो ।

एउटै म्यानपावरबाट एउटै प्रक्रिया गरेर कुवेत जान विमानस्थल पुगेका बाँकी साथीहरू कुवेत पुगिसक्दा आफू भने विमानस्थलबाटै फर्किनुपरेपछि धनसिंहको मनको बेचैनी अहिलेसम्म रोकिएको छैन । 

धनसिंहको वैदेशिक रोजगारीको यात्रा यो पहिलो होइन । यसअघि रोजगारीकै लागि बहराइन, कतार र मलेसियामा काम गरेर फर्कंनुभएका उहाँले यस्तो अनुभव यसअघि कहिले पनि गर्नुभएको थिएन । 

विमानस्थलबाटै फर्कनु परेपछि धनसिंह काठमाण्डौमै होटलमा बसिरहनुभएको छ । अहिले बस्नका लागि होटलमा म्यानपावरले भनिदिएको छ । तर अब विदेश उड्न पाइन्छ या पाइँदैन भन्ने पीरमा पर्नुभएको छ उहाँ । गाउँबाट बिदा मागेर फर्कंनुभएका धनसिंहलाई घर फर्कन पनि समस्या छ । होटलमा बसेको खर्च कसले तिरिदिन्छ भन्ने पनि अन्यौल छ । 

‘ऋण गरेर जानुपर्छ विदेश, त्यसैमाथि यसरी विमानस्थलबाटै फर्काएपछि कहाँ जाने कहाँ बस्ने समस्या हुन्छ’, धनसिंह भन्नुहुन्छ, ‘घरबाट पैसा कमाउन जाने भन्दै बिदाइ भएर खुसीका साथ आइयो, अब कुन मुख देखाएर घर फर्किनु ?’

धनसिंह मात्र होइन कुवेत एयरलाइन्समार्फत रोजगारीको लागि कुवेत हिँडेका लागेका १६ जना र सलाम एअरमार्फत कुवेत नै हिँडेका अरू एक सय एक जनालाई अध्यागमन कार्यालयले फर्काएको छ । 

यस्तै असार २४ गते जोर्डन जान लागेको १४ महिलासहित १५ जनालाई अध्यागमन कार्यालयले रोकेको थियो । 

वैदेशिक रोजगारीमा जाने भन्दै घरपरिवारसँग बिदा भएर जहाज चढ्न विमानस्थल पुगेकाहरू यसरी फर्काइएपछि कहाँ जाने के गर्ने अन्यौलमा छन् । 

काठमाण्डौमा होटलमा बस्ने खर्च नभएर कोही घर फर्किसके भने कोही फेरि जान पाइन्छ कि भन्ने आशमा काठमाण्डौमै छन् । तर अझै अब कति दिन लाग्ने हो, जान पाइने हो या होइन अन्यौलमा छन् ।

यसरी श्रम स्वीकृति नै लिएर वैधानिक तवरले वैदेशिक रोजगारीमा जान ठिक्क परेर विमानस्थल पुगेकाहरूलाई बिना प्रमाण फर्काइएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आपत्ति जनाएको छ । सङ्घले शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबाट पर्न गएको असुविधा र नोक्सानीको क्षतिपूर्ति पनि माग गरेको छ ।

सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन कार्यालयले पछिल्लो समय वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई अनावश्यक दुःख दिने, विमानस्थलबाटै फर्काउने गरेको बताउनुभयो ।

‘भिसा र हवाई टिकटबाहेकका अनावश्यक कागजातको परीक्षण गर्ने, श्रमिकलाई दुर्व्यवहार साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय श्रमिकको भिसा समाप्त भई रोजगार नै गुम्ने अवस्था छ । साथै व्यवसायीलाई हवाई टिकट बापत ठूलो आर्थिक क्षति पुर्‍याउने तवरमा नियतबस यस्तो कार्य गरेको सङ्घको आरोप छ । साथै सङ्घले अध्यागमन कार्यालयको यस्तो कार्यले पर्न गएको असुविधा र नोक्सानीप्रति क्षतिपूर्ति पनि माग गरेको छ’, जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

श्रम स्वीकृति दिँदा वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरण, भिसालगायत सबै प्रक्रिया हेर्छ, यो सबै कुरा सही छ भन्ने भएपछि मात्र स्वीकृति दिन्छ । तर एउटा निकायले प्रमाणित गरेर विमानस्थलमा पुगेका श्रमिकलाई अध्यागमनले फर्काउनु कानुन विपरीत भएको सङ्घका महासचिव मेघनाथ भुर्तेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘संस्थागत रूपमा भिसा लगाइ उडानका लागि गएका श्रमिकको करार सम्झौता, काम, पद, सेवा, सुविधा हेर्ने अधिकार अध्यागमन कार्यालयको क्षेत्राधिकारभित्र पर्दैन ।’

यस्तै सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन कार्यालयले पछिल्लो समय वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई अनावश्यक दुःख दिने, विमानस्थलबाटै फर्काउने गरेको बताउनुभयो ।

अध्यागमन कार्यालयका कर्मचारीलाई नयाँ व्यवस्थाबारे थाहा नभएकाले पनि श्रमिकलाई अनावश्यक दुःख दिने गरेको उहाँको आरोप छ । अध्यागमनका कर्मचारीले दुईटा भिसा देखिए भनेर फर्काइएका श्रमिकको हकमा सङ्घले प्रमाण देखाउनुस् भन्दा अध्यागमनले प्रमाण पेस गर्न नसकेको उहाँले बताउनुभयो ।

अध्यागमन भन्छ : दुई थरी कागजात बोकेको पाइयो 

अध्यागमन कार्यालयले भने कागजात दुई थरी बोकेको पाइएपछि उनीहरूलाई फर्काएको बताएको छ । श्रम स्वीकृति लिएर हिँडेको भए पनि साथमा कागजात शङ्कास्पद बोकेको पाइएपछि उनीहरूलाई फर्काइएको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले बताउनुभयो । 

एउटा देशमा जान भनेर कागजात पेस गरिएको तर भिसा अर्कै देशको भएको र एउटा देखाउने भिसा र झोलामा अर्को भिसा बोकेको पनि अध्यागमनले बताएको छ ।

उहाँ भन्नुहुन्छ ‘पछिल्लो समय महिलाहरूलाई घरेलु काममा झुटा विवरण बनाएर पठाउने गरिएको भन्ने सूचना पाएकाले पनि कडाइ गरिएको हो, सरकारले घरेलु काममा जान प्रतिबन्ध लगाएको देशमा महिलाहरू पठाउन खोजिएको हो कि भन्ने आशङ्का विभागको छ ।’

कर्मचारी र व्यवसायीले गल्ती गरेको पाइए कारबाही गर्छौँ

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकहरूलाई अध्यागमन विभागले रोकेपछि बिहीबार गृह सचिव, श्रम सचिव, अध्यागमन विभागका महानिर्देशक, अध्यागमन कार्यालयका प्रमुख, वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुखसहित गृह मन्त्रालयमा बैठक बसेको थियो ।

अध्यागमन कार्यालयले श्रम स्वीकृति लिएर हिँडेकाहरूलाई रोक्नुको कारणसहित औपचारिक रूपमा कागजातहरू आएपछि विभागले थप अनुसन्धान र कारबाही अघि बढाउने महानिर्देशक दाहालले बताउनुभयो । अहिले विभाग के कस्तो शङ्कास्पद कागजातको आधारमा रोकियो भन्ने प्रमाणहरूको पर्खाइमा रहेको छ ।

बैठकमा अध्यागमन कार्यालयले शङ्कास्पद देखिएका कागजात वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउने भनिएपछि शुक्रवार दिउँसो साढे तीन बज्दासम्म अध्यागमन कार्यालयबाट कुनै पनि कागजात प्राप्त नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल बताउनुहुन्छ ।

‘यदि हाम्रो कर्मचारीबाट गलत भएको छ र व्यवसायीले पनि गलत गर्नुभएको छ भने गलत गर्ने कर्मचारी र व्यवसायीलाई म कारबाही गर्छु’ महानिर्देशक दाहाल भन्नुहुन्छ ‘यदि अध्यागमन विभागबाट गल्ती भएको छ भने गृहले कारबाही गर्नुपर्छ भनेर मैले गृह मन्त्रालयमा भएको छलफलमा भनेको छु ।’

अध्यागमन कार्यालयले श्रम स्वीकृति लिएर हिँडेकाहरूलाई रोक्नुको कारणसहित औपचारिक रूपमा कागजातहरू आएपछि विभागले थप अनुसन्धान र कारबाही अघि बढाउने महानिर्देशक दाहालले बताउनुभयो । अहिले विभाग के कस्तो शङ्कास्पद कागजातको आधारमा रोकियो भन्ने प्रमाणहरूको पर्खाइमा रहेको छ ।

तर विभागले श्रम स्वीकृति लिएर पठाएका श्रमिकलाई रोक्नु पर्ने त्यस्तो आधिकारिक कारण नदेखिएको महानिर्देशक दाहाल बताउनुहुन्छ । 

‘कागजात शङ्कास्पद भनिएको छ, के कस्तो शङ्कास्पद भनेर अहिलेसम्म विभागले पाएको छैन, अर्को कारण ढिला आएको भनिएको छ त्यो पनि श्रमिकले बोर्डिङ पास लिएको समय हेर्दा आधिकारिक हो जस्तो लाग्दैन’ महानिर्देशक दाहालले भन्नुभयो ‘व्यवसायीहरूले उपलब्ध गराएको कागजात र प्रमाण हेर्दा अध्यागमनको लापरबाही देखिन्छ ।’

अन्तर मन्त्रालय समन्वयको कमी हुँदा श्रमिक मारमा 

श्रम तथा आप्रवासन विज्ञ शरु जोशी अन्तर मन्त्रालय समन्वय नहुँदा श्रमिकहरू मारमा परेको बताउनुहुन्छ । 

‘श्रमिकसँग भिसा र श्रम मन्त्रालयले प्रदान गरेको श्रम स्वीकृति छ भने हुलका हुल मानिस कसरी अध्यागमनको शङ्कामा परे होलान्’ जोशी भन्नुहुन्छ ‘सुरक्षाको हिसाबमा राज्यले जस्तो सुकै निर्णय पनि लिन त पाउला तर यो कुरा त मन्त्रालय मन्त्रालय वा विभाग विभागबीचमा समन्वय हुनु पर्ने कुरा हो ।’

कुन निकायको कहाँ कमजोरी भयो भन्ने यकिन कारण त भोलिको दिनमा अनुसन्धानले देखाउला । तर सबै प्रक्रिया पूरा गरी झोला बोकेर कमाउन हिँडेका श्रमिकलाई विमानस्थलबाटै फर्काउँदा उनीहरूले भोगेको मानसिक यातना र परेको मारको भरपाई भने कसले गर्छ ? 

सरकारका विभिन्न निकायहरुबीचमा राम्रो समन्वय नभएकै कारण श्रमिकहरूको रातारात बिचल्ली भएको र कतिपयलाई जहाज चढ्ने बेलामा फर्काइदा यसको असर मानसिक रूपमा पनि श्रमिकलाई परेको जोशी बताउनुहुन्छ । 

‘विदेश उड्न भनेर घरबाट हिँडेको मानिसलाई विमानस्थलबाटै फर्काइदा उसमा के बितेको होला, गाउँमा फर्कँदा कस्तो भयो होला, कति ऋणपान गरेर मानिस विदेश हिँडेको हुन्छ’ आप्रवासन विज्ञ जोशी भन्नुहुन्छ ‘रातारात एउटा श्रमिक कहाँ जाने, सरकारका विभिन्न निकायबीच राम्रो समन्वय भएको भए सायद श्रमिकले यस्तो सास्ती भोग्न पर्दैन थियो होला ।’

संसारका विभिन्न देशमा सरकारका विभिन्न निकायले मिलेर वैदेशिक रोजगारीको विषयलाई सम्बोधन गर्ने गर्छन् । फिलिपिन्समा १७ वटा अन्तर निकायले एकै ठाउँमा वैदेशिक रोजगारीको विषयलाई हेर्छन् । तर नेपालमा भने एउटा मन्त्रालयले श्रम स्वीकृति दिएर पठाएकाहरूलाई फर्काउँदा त्यसको असर के पर्छ भन्ने सामान्य कुरामा समेत ध्यान नदिइएको देखिन्छ ।

अध्यागमनको प्रक्रियासमेत पास गरेर जहाजमा चढ्ने समय कुरिरहेकाहरूलाई अध्यागमन अनुमति रद्द गरेर फर्काउँदा अर्को समस्या पर्ने देखिन्छ । अध्यागमनले अनुमति रद्द गरेर फर्काएको पासपोर्टमा कतिपय देशले भिसा नदिने र यस्तो पासपोर्ट भएमा सम्बन्धित व्यक्तिले अध्यागमन सम्बन्धी अपराध गरेको ठहरिन्छ । 

व्यवसायी सङ्घका अनुसार कतिपय श्रमिक घर फर्किएका छन् । तर कतिपय भने काठमाण्डौमै आफन्तसँग र होटलमा बसिरहेका छन् । कुन निकायको कहाँ कमजोरी भयो भन्ने यकिन कारण त भोलिको दिनमा अनुसन्धानले देखाउला । तर सबै प्रक्रिया पूरा गरी झोला बोकेर कमाउन हिँडेका श्रमिकलाई विमानस्थलबाटै फर्काउँदा उनीहरूले भोगेको मानसिक यातना र परेको मारको भरपाई भने कसले गर्छ ? 

तपाईको प्रतिक्रिया