विदेशमा सिकेको सीप प्रयाेग गरेर स्वदेशमै स्वरोजगार

 असार ३१, २०८० आइतबार १२:३:५० | रासस
unn.prixa.net

कास्की – जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर पाेखराका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बन्नुभएको छ । 

पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन न ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिनुभएको छ । 

भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उहाँ जागिरको सिलसिलामा अष्ट्रेलिया पुग्नुभयो । उहाँले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गर्नुभयो । “अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।” 

उहाँ अष्ट्रेलियामा काम गर्दा महिनाकाे दुई लाख रुपैयाँ आम्दानी गर्नुहुन्थ्यो । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उहाँ स्वदेशी फर्कनुभयो । छ वर्ष अघि स्वदेश फर्कनु भएका उहाँले हामी महिनाकाे ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहनुभएको छ भने तीन जनालाई जागिर पनि दिनुभएको छ ।

होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उहाँले भन्नुभयो, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक १२ हजार रुपैयाँ ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताउनुभयो ।

उहाँसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहनुभएको छ । उहाँहरुले महिनाकाे १७ हजार रुपैयाँका दरले पारिश्रमिक पाउनुहुन्छ । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उहाँले भन्नुभयो । 

पोखरा महानगरपालिका वडा नं १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग र एक सय आठ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउनुहुन्छ ।

“एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उहाँले भन्नुभयो । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया