वैदेशिक रोजगारीमा जानेहरुले अब अध्यागमनमा यी कागजात अनिवार्य देखाउनुपर्ने

 असार ३१, २०८० आइतबार १७:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरुका कागजात शंकास्पद देखिन थालेपछि  अध्यागमन विभागले कडाइ गरेको छ । तोकिएका कागजातहरु पेश गरेमा मात्र प्रस्थान अनुमति दिने भन्दै विभागले आइतबार एक विज्ञप्ति निकालेको छ ।

अब वैदेशिक रोजगारीमा जानेहरुले अन्य भाषामा भएका भिसा अनिवार्य रुपमा अंग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने जनाएको छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्नेछ । यस्तै, प्यारेन्ट कम्पनी तथा होल्डिङ कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए ती ‘प्यारेन्ट कम्पनी/होल्डिङ कम्पनी’ले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनेर लेखेको आधिकारिक पत्र पेश गर्नुपर्नेछ । 

कुवेत जाने श्रमिकहरुको ईभिसाका सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीले सम्पूूर्ण जिम्मेवारी लिइ प्रतिबद्धतात्र पेश गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ । विभागले अर्को निर्णय नगर्नसम्मको लागि यो नियम लागू हुनेछ । 

पछिल्लो समय वैदेशिक रोजगारीमा जान तयार भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाहरुलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काएको भन्दै म्यानपावर व्यवसायी आक्रोसित छन् । यही असार २७ र २८ गते कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको थियो । यस्तै त्यसको तीन दिन अगाडि पनि वैदेशिक रोजगारीमा जोर्डन जान लागेका १४ महिलासहित १५ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागजात नमिलेको, भिसामा शंका लागेको भन्दै फर्काएका थिए । यसैको विरोधमा आइतबार व्यवसायीहरुले अध्यागमन विभाग घेराउ गर्दै विभागका महानिर्देशकको राजीनामा पनि माग गरेका छन् । 

श्रम स्वीकृति लिई, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई यसरी फर्काएर अध्यागमनले मनपरि गर्न खोजेको व्यसायीहरुको आरोप छ । अध्यागमनले आफ्नो कार्यमातहत बाहिरको काम गरेको भन्दै उनीहरु आक्रोशित छन् । 

तर अध्यागमन विभागले यात्रुहरुको कागजात जाँच गर्ने र शंका लागेमा अनुमति दिन अस्वीकार गर्ने अधिकार सम्बन्धित अध्यागमन अधिकृतलाई हुने जनाएको छ । विभागले अध्यागमबाट श्रमिक फर्काइएका पछिल्ला घटनाका विषयमा पनि प्रष्ट पारेको छ । श्रमिकहरुले पेस गरेका कागजातको प्रारम्भिक छानबिनमा भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको, भिसाको अवस्था ‘अवेटिङ अप्रुभल’ देखिइ भिसाको आधिकारिकताका सम्बन्धमा द्विविधा उत्पन्न भएको विभागको भनाइ छ । यस्तै भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकति/सम्झौतापत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरु देखिएको हुँदा छानबिन गरी आवश्यक निर्णयमा पुग्नका लागि छानबिन समिति समेत गठन भइ कार्य प्रारम्भ भएको विभागले जनाएको छ ।

2 Comments

  • बिक्रम लामा

    July 18, 2023, 4:21 p.m.

    अब निजिकरण होइन सरकारिकरण गर्नु कि गत्तिलो न्याय बनाउनु उता गरिब जनताले म्यान्पावर लाई 3/4लिन्छ बिल दिन्छ 10हजार उता 6/7/12/13लाख तिर्छ उता80हजार को बिल पाउछ अनि यसरी कहाँ हुन्छ ? उता सरकारलाइ कर मा पनि क्षती अनि यता गरिब श्रमिक पनि लुटिने! अब।सबै निजि म्यानपावर बन्द गर्नु अनि G2G मार्फत पठाउनु यो नै सबैको उत्तम हुन्छ जयजयकार हुन्छ

  • कमल भण्डारी

    July 16, 2023, 6:33 p.m.

    लागत बैंक मार्फत कारोबार गरन अनिबारे गर्नु होस 10 हजार को बिल देखा र 3 लाख देखि 4 लाख सम लिने लाई पक्डेको हेने धोको छ

तपाईको प्रतिक्रिया