गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

 बैशाख १५, २०८१ शनिबार ७:३:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान गरेको छ । ‘सुरक्षा समन्वय तथा वार्ताका लागि’ मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डल इजरायलतर्फ प्रस्थान गरेको इजरायली सरकारनिकट स्रोतलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलका विभिन्न सञ्चारमाध्यमले इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल भएको दाबी समेत गरेका छन् । दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध इजरायलले सैन्य कारवाहीको तयारी गरेका बेला मध्यस्थकर्ताको टोली वार्तामा जुट्दैछ । तर हमास पक्षले रफाहमा कुनै पनि प्रकारको आक्रमणबाट वार्तालाई नै खतरामा पार्ने सङ्केत गरेको छ ।

हमासका वरिष्ठ अधिकारी गाजी हमादले इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताउनुभएको छ । मुख्यगरी कतार, इजिप्ट र अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर गएको नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिनुबाहेक त्यसपछि अहिलेसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन । त्यसबेलमा इजरायली जेलमा रहेका २ सय ४० जना प्यालेस्टिनीको बदलामा ८० जना इजरायली बन्दीको आदानप्रदान भएको थियो ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले गएको हप्ता युद्धविरामको पहलबारे कतारले आफ्नो भूमिकाको पुनरावलोकन गरिरहेको बताउनुभएको थियो । गएको अक्टोबर ७ तारिखमा हमास लडाकु समूहको आक्रमणपछि युद्ध शुरु भएको थियो  ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया