रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी

 मंसिर २१, २०८० बिहिबार ७:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ । रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई मङ्सिर १७ गते नियन्त्रणमा लिइएको हो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ । यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कुटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

ढकालको विषयमा भने मन्त्रालयले केही भनेको छैन । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भैसकेको छ । नेपालले रूस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन र मृतकका परिवारलाई राहत दिन रूस सरकारसँग माग गरेको छ ।

यस्तै नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन पनि रुसलाई आग्रह गरिसकेको छ । कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त देशहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ ।

यसैबीच अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ । काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका १२ जनालाई हिजो सार्वजनिक गर्दै प्रहरीले यस गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो ।

तपाईको प्रतिक्रिया