आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

 चैत १६, २०८० शुक्रबार ६:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएर लगातार दोस्रो जित दर्ता गरेको छ । जयपुरमा हिजो भएको खेलमा राजस्थानले दिल्लीलाई  १२ रनले हराएको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेले । ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे । राजस्थानका लागि नान्द्रे बर्गर त युजभेन्द्र चहलले समान २–२ विकेट लिए भने आवेश खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । रियान परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए । उनीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । रविचन्द्रण अश्विनले २९ तथा ध्रुव जुरेलले २० रन बनाएका थिए ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १–१ विकेट लिए । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो । दिल्ली भने पन्जाब किङ्ग्ससँग पराजित भएको थियो ।

आईपीएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया