प्रि–मनसुनकै बेला परेको पानीले मुख्य सडक हिलाम्य : यात्रु र चालकलाई हैरानी

 चैत १७, २०८० शनिबार १०:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रिमनसुन शुरु हुने बित्तिकै हप्ता दिनसम्म लगातारजसो परेको पानीले मुख्य राजमार्गसहित देशका धेरैजसो सडक हिलाम्य भएका छन् । यात्रु र गाडी चालकले निक्कै सास्ती भोग्नुपरेको छ । पोखरा-मुग्लिन सडक अहिले विस्तारको क्रममा छ । जहाँ ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम भैरहेको छ । तर कालोपत्र हुन बाँकी रहेका ठाउँमा हिलो माटो थुप्रिएको छ ।

त्यहअं हिलाम्य सडकमा गाडी फस्दा यात्रु र चालकले सास्ती भोग्दै आएका गुल्मी–स्याङजा–पोखरा–मुग्लिन हुँदै काठमाण्डौ बस चलाउने नवलपुर विनय त्रिवेणीका विश्वास सारुले गुनासो गर्नुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकको पनि हालत उस्तै छ । झण्डै एक सय १७ किलोमिटर सडक खनेर छोडेको पाँच वर्ष भैसकेको छ । यो सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ ।

मुख्य राजमार्गको बुटवल–नारायणगढसहित अरु धेरै सडकमा काम भैरहेको सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेल बताउनुहुन्छ । काम भैरहेका ठाउँमा पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलो उड्ने गरेको गुनासो आउनु स्वभाविक भएको उहाँको भनाई छ । यस्तै बनेपा पूर्वका सडकमा पनि अहिले काम भैरहेको छ ।

सङ्घीय राजधानी काठमाण्डौ जोड्ने नागढुङ्गा–मलेखु–मुग्लिन सडक विस्तारका कारण धेरैजसो ठाउँमा सडक भत्काएर छाडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्दबाबामा सानो पानीले पनि पहिरो र लेदो बग्छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडकको कालोपत्र गर्नुपर्ने काम रोकिएको १५ महिनापछि बल्ल शुरु भएको छ । छिटपुटबाहेक देशका अरु सडकको अवस्था पनि यस्तै नै छ ।

प्रि–मनसुनमा परेको पानीकै कारण बेहाल हुने सडकमा बर्खा लागेपछि अवस्था झन् के होला भन्ने चिन्ता पनि थपिएको छ । मनसुन भित्रिन अब साढे २ महिना पनि बाँकी छैन । तर सडक विभागले नियमित प्रकृया अनुसार नै योजनाबद्ध काम भैरहेको दाबी गरेको छ ।

सडक विभागका उपमहानिर्देशक पोखरेलका अनुसार काम भैरहेका सडकमा आउँदो मनसुनका लागि नियमित कार्ययोजना अनुसार नै काम हुने बताउनुभयो । पहिरो झर्न सक्ने सम्भावित ठाउँको पहिचान गरी पहिरो झरेमा सकेसम्म छिटो पन्छाउने गरी काम हुने उहाँको भनाई छ ।

मनसुनमा अहिलेजस्तो त्यति सहज नहुने तर बाढी,पहिरोले सडकमा हुने अवरोधलाई ध्यानमा राखेर कार्ययोजनालाई कार्यान्वयन गरिने उहाँको दाबी छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया