चारवटा प्रदेशमा बहुमत जुटाउन सत्तारूढ दलहरुको पहल

 चैत २०, २०८० मंगलबार ९:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नयाँ सत्ता समिकरणसँगै प्रदेश सरकारको पनि पुनर्गठनको समझदारी गरेका दलहरु बहुमत जुटाउने कसरतमा लागेका छन् । पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादी र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी भएको छ ।

बाग्मती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विश्वासको मत लिनुभएको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीमा बहुमत जुटाउन पहल भैरहेको छ ।  कर्णालीमा अहिले माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । तर सहमति अनुसार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको छ । केन्द्रको निर्णयलाई पालना गर्दा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुपर्ने हुन्छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसदको मत चाहिन्छ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

त्यस्तै गण्डकीमा विपक्षी राप्रपाविना सरकार निर्माण केही कठिन देखिएको छ । अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेर मात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धन दबाबमा छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन ।

गएको फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्र पाण्डेले संविधान अनुसार पर्सि २२ गतेसम्म विश्वासको मत लिनुपर्छ । त्यसअघि कसरी अगाडि बढ्ने भन्नेबारे पाण्डे छलफलमै हुनुहुन्छ ।

सुदूरपश्चिम र लुम्बिनीमा नागरिक उन्मुक्ति र नेकपा एकीकृत निर्णायक देखिएका छन् । तर नागरिक उन्मुक्ति पार्टीभित्र अहिले विवाद चर्किएको छ । त्यसकारण बहुमत जुटाउन थप प्रयास चलिरहेको छ । विश्वासको मत लिनुपर्ने समय सीमा सकिनै लाग्दा आफ्नो पक्षमा समर्थन जुट्न नसक्दा नेपाली कांग्रेसबाट सुदूरपश्चिम सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाह अप्ठारोमा पर्नुभएको छ । 

कोशीमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री हुनुहुन्छ । माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थन सरकारलाई कायमै रहेकाले फिर्ता लिएलगत्तै नयाँ समीकरणअनुसार सरकार गठन हुन सक्छ । तर, यसअघि नै अन्तिम विकल्पमा अहिलेको सरकार गठन भएकाले त्यहाँ नयाँ सरकार गठन हुने/नहुने अनिश्चित छ ।

मधेश प्रदेशमा केन्द्रमा समीकरण फेरिए पनि जसपाले नै सरकारको नेतृत्व गर्ने सहमति छ । जसअनुसार मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ समीकरणअनुसार एमालेलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । कांग्रेस सरकारबाट बाहिरिएको छ ।

माओवादी र एकीकृत समाजवादी सरकारमै छन् । यद्यपि, मन्त्रिपरिषद् हेरफेरमा माओवादी र एमालेबीच थप कुराकानी मिल्न बाँकी नै छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया