अहिलेकाे संविधान पूर्ण छैन : प्रधानमन्त्री

 चैत २०, २०८० मंगलबार १८:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको संविधान सम्झौताकै दस्तावेज भएकाले पूर्ण नरहेको बताउनुभयो । उहाँले पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताउनुभयो । संविधानलाई बढीभन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको प्रचण्डकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिलेकाे संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्तावेज हो । यसमा पुँजीवादका विशेषता पनि छन्, समाजवादका विशेषता पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरूले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरूले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गर्नुभयो । उहाँले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भई र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताउनुभयो ।

प्रचण्डले आफूले केही जोखिम मोलेर भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको जिकिर गर्नुभयाे । समाजवादको जन्म अन्ततः सडकबाटै भएको उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया