गण्डकीकाे मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

 चैत २५, २०८० आइतबार १५:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले) का गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ जना र एक जना स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ३१ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सभामुख कृष्णप्रसाद धितालको समेत हस्ताक्षर गराएर मुख्यमन्त्रीको बहुमत पुर्‍याएकाे भन्दै चर्को आलोचना भइरहेको छ ।

यसअघि कोशी प्रदेशमा पनि सभामुखको हस्ताक्षर गराएर मुख्यमन्त्री नियुक्त भएकोमा सर्वोच्च अदालतले बदर गरिदिएको थियो । सर्वोच्चको नजिर विपरीत यस पटक गण्डकी प्रदेशमा पुनः दलहरूले सभामुख पदको दुरुपयोग गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्थ्यो ।

अधिकारीले आजै शपथ लिनुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) ले पनि शपथ लिएका छन् ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो । एमाले, माओवादी, स्वतन्त्र सांसद राजीव गुरुङ र सभामुखलाई समेत गणना गरिएकाले अधिकारीको दाबी असंवैधानिक रहेको पत्रमा उल्लेख छ । 

कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पुनः सांसदहरूको हस्ताक्षर लिन पनि आग्रह गरेको छ । खगराज अधिकारीलाई समर्थन गरेका हस्ताक्षरको आधिकारिक सनाखतविना नै मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न नसकिने कांग्रेसले जनाएको छ ।

यसअघि विश्वासको मत नपाउने अवस्था देखिएपछि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो । २१ गते नै प्रदेश प्रमुख भट्टले सात दिनको समय दिएर बहुमतको सरकार दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया