भियतनाममा ४४ अर्ब डलरकाे बैकिङ ठगी : अर्बपति महिलालाई मृत्युदण्डकाे सजाय

 चैत २९, २०८० बिहिबार १५:२१:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भियतनाममा अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीका आरोपी ट्रुङ माई लानलाई मृत्युदण्डकाे सजाय सुनाइएकाे छ । बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई हाे ची मिन्ह शहरमा रहेकाे अदालतले मृत्युदण्डकाे फैसला सुनाइएकाे बीबीसीले जनाएको छ ।

पक्राउ परेकी ट्रुङ माई लानलाई साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । तर अभियोजनकर्ताहरूले २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको बताएका छन् ।

यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको खबरमा उल्लेख छ । ट्रुङ माई लानविरुद्धका प्रमाणले एक सय चार वटा बाकस भरिएको र यी कागजपत्रको तौल छ टन रहेको छ । भियतनामका १० वटा राज्यले लानविरुद्ध बहसका लागि दुई सय जना वकिल खटाएका थिए । लानको पक्षबाट भने ८५ जना वकिलले बहस गरेका थिए ।

यसअघिका कम्युनिस्ट सरकारले यस्ता मुद्दा मिलेमतोमा टुङ्ग्याउने गरेको भए पनि अहिलेको सरकार भने भ्रष्टाचार विरोधी भएकाले मुद्दा टुङ्गोमा पुगेकाे खबरमा उल्लेख छ । भियतनाममा अनियन्त्रित भ्रष्टाचारको बारेमा जनआक्रोश बढिरहेको छ ।

चिनियाँ–भियतनामी परिवारबाट आएकी ट्रुङ माई लान लामो समयदेखि भियतनामको प्रमुख व्यापारी र उद्योगीको रूपमा रहेकी छिन् । सन् १९८६ मा सामान्य सौन्दर्यका सामान बेच्दै व्यवसायको शुरु गरेकी लानले सन् १९९० को दशकमा होटल र रेस्टुरेन्टको सञ्जाल फैलाउन थालेकी थिइन् । त्यसपछि घरजग्गा कारोबार र अन्य थुप्रै व्यवसायबाट उनको समूह अर्बपति बनेको थियो ।

सन् २०११ मा नियम छलेर उनले साइगोन कमर्सियल बैंक किनेकी थिइन् । भियतनामी कानुनले कुनै पनि व्यक्तिलाई एउटै बैंकको पाँच प्रतिशतभन्दा बढी शेयर राख्न निषेध गरेको छ । तर लानले आफ्ना कामदार र नातेदारहरूको नामबाट साइगोन बैंकमा ९० प्रतिशत शेयर पुर्‍याएकी थिइन् । त्यसपछि बैंकमा प्रबन्धकसहित अन्य जिम्मेवार व्यक्ति आफू अनुकूल नियुक्त गरेर नियम विपरीत ऋण लगेको लानमाथि आरोप लागेको छ ।

कुनै बेला साइगोन कमर्सियल बैंकको सबै ऋणको ९३ प्रतिशत हिस्सा लानको स्वामित्वमा रहेका कम्पनीमा लगानी भएको थियो । बैंकको अवस्थ खराब हुन थालेपछि उनले सन् २०१९ को फेब्रुअरीदेखि चार अर्ब डलर आफ्ना चालकमार्फत निकालेकी थिइन् । यदि भियतनामको सबैभन्दा ठूलो नोटमा भए पनि चार अर्ब डलरको तौल दुई टन हुने खबरमा उल्लेख छ । उनले दुई टन तौल बराबरका नोट कहाँ राखेकी छन् भन्ने पनि खुलेको छैन ।

लानले आफ्नो ऋणको छानबिन कहिल्यै नगर्ने सुनिश्चित गर्न एक जना केन्द्रीय बैंकका जिम्मेवार व्यक्तिलाई ५० लाख डलर घुस दिएको पाइएको छ । घुस लिने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया