गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस : जोखिम न्यूनीकरणको काम कमजोर

 बैशाख १२, २०८१ बुधबार ७:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा धेरै घाइते भएका थिए ।

अघिल्लो पुस्ताले धेरै चर्चा गर्ने १९९० सालको भूकम्पसँगै तुलना गरिएको २०७२ सालको भूकम्पवाट लाखौँ मानिस घरवारबिहीन भएका थिए । धेरै सार्वजनिक भवन तथा सम्पदाहरुमा पनि क्षति पुग्यो । नौ वर्षअघि ठूलो भूकम्प जाँदा भूकम्पीय जोखिम र भूकम्पवाट हुने क्षति न्यूनिकरणका बारेमा धेरै बहस र चर्चा भए । संरचना निर्माणका लागि मापदण्डहरु बने र कतिपय लागू पनि भए । तर बिस्तारै भूकम्पको जोखिमलाई बिर्संदै गएको पाइन्छ ।

गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प गयो । यो भूकम्पमा परी एक सय ५६ जनाले ज्यान गुमाए । ती क्षेत्रमा अहिले पनि अस्थायी आवास निर्माणको काम पुरा भएको छैन । भूगर्भविद् एवम् त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा.सुवोध ढकाल सरकारले भूकम्पपछि पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि भूकम्पीय सुरक्षालाई ध्यान नदिएको बताउनुहुन्छ ।

भूगर्भविद् डा. ढकाल आम नागरिकले आफु बस्ने घर बलियो बनाउने, जोखिम टार्नेखालमा सीप सिक्ने र विशेषगरी पालिकाहरुले खुल्ला ठाउँ छनौट लगायतका तयारी गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया