काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन

 बैशाख १२, २०८१ बुधबार १०:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

महानगरले सार्वजनिक सूचनामार्फत सङ्कलन गरिएका आवेदकमध्ये एक सय ४५ जना स्वयंसेवक छनोट गरेर सामुदायिक विद्यालयमा परिचालन गरेको पोखरेलले बताउनुभयो । स्वयंसेवकमध्ये ४५ जनालाई युवा र बालबालिका (सम्पदा) कार्यक्रम तथा एक सय जनालाई वातावरण र बालबालिका (वाबा) कार्यक्रमका लागि परिचालन गरिएका छन् ।

पोखरेलका अनुसार महानगरपालिकाभित्रका ८९ सामुदायिक विद्यालयमा छ महिनाका लागि स्वयंसेवक परिचालन गरिएका छन् । स्वयंसेवकले हरेक हप्ताको दुई दिन (बिहीवार र शुक्रवार) विद्यालयमा समय दिनुपर्ने र शिक्षक तथा विद्यार्थीहरुसँग सहकार्य गरी ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेछ ।

त्यसैगरी हरेक बिहीवार सम्पर्क शिक्षकसँगको समन्वयमा शुक्रवार विद्यालयमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने, विद्यालय हाता, कक्षाकोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ र फोहरको वर्गीकरण अभ्यासलाई संस्थागत गर्नेलगायत काममा स्वयंसेवकबाट योगदान हुने महानगरपालिकाले अपेक्षा गरेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया