मंसिरमा आगलागीबाट ११ जनाको मृत्यु, सानो झिल्कोले करोडौंको क्षति

 पुस ४, २०७५ बुधबार १०:०:१८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाडौं –  गएको मंसिर ९ गते राती झापाको शिवसतासी नगरपालिका–८, का लक्ष्मण खनालको घरमा आगलागी हुँदा उहाँसहित उहाँकी श्रीमती, छोरी र छोरो गरी परिवारका चारजनाको ज्यान गयो ।

त्यसको भोलिपल्ट पाँचथरको च्याङथापु बजारमा भएको आगलागीमा परि ११ वर्षीया सोनिया लिम्बूले ज्यान गुमाइन् ।

मंसिर २८ गते दाङमा अर्को निकै दर्दनाक घटना भयो । त्यहाँको बंगलाचुली गाउँपालिका ८ गुराँसेमा आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर ज्यान गयो । 

यी त प्रतिनिधि घटना मात्र हुन् । सुन्दा नै मन चसक्क हुने यस्ता घटनाहरु पछिल्ला समयमा निकै बढिरहेका छन् । सामान्यतया फागुन–चैत–वैशाख महिनामा आगलागीका घटना बढी हुने गरेको भए पनि यस वर्ष मंसिर महिनामा मात्रै आगलागीमा ११ जनाले ज्यान गुमाए भने ३४ जना घाइते भएका छन् ।  

एक महिनाको अवधिमा देशभर भएका आगलागीसम्बन्धी २ सय ७९ वटा घटनामा अनुमानित ३२ करोड ६३ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बेदनिधि खनालले जानकारी दिनुभयो ।

मानवीय लापरर्वाही आगलागीको मुख्य कारण

मंसिर महिनामा भएका आगलागीका घटनाको मुख्य कारण मानवीय लापरर्वाही नै देखिएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बेदनिधि खनालका अनुसार केटाकेटीले आगो वा आगो निस्कने बस्तु खेलाउनु, विद्युत सर्ट हुनु, घरमा आगो राम्ररी ननिभाई बाहिर जानु, चुरोट/बिँडी खाएर त्यसको ठूटा जथाभावी फ्याँक्नु, किसानले घर वा जंगलको छेउमा विभिन्न बस्तु जलाउनु, आगो बाल्दा होसियारी नअपनाउनु लगायतका कारण आगलागीका घटना बढिरहेका छन् । आगलागीका अधिकांश घटनामा मानवीय सचेतना भएमा घटना नै नहुने वा भएमा पनि क्षति कम गर्न सकिने खनालको भनाई छ । 

आगलागी हुनबाट बच्ने उपाय

  • आगो वा आगोजन्य बस्तुलाई केटाकेटीको पहुँचबाट टाढा राख्ने
  • घरमा भएका विद्युतीय सामाग्रीको अबस्थाबारेमा ख्याल गर्ने, र प्रयोग गर्दा साबधानी अपनाउने । 
  • खाना पकाईसकेपछि अगेनाको आगो निधाउन तथा हिटर, ग्याँस बन्द गर्न नभुल्ने । 
  • चुरोट, बिडी, सूर्ति सल्काएर जथाभावी नफ्याँक्ने । 
  • हुरीबतास चलेको समयमा आगोको प्रयोग नगर्ने वा बढी सतर्क रहने । 

आगलागी भइहालेमा,

  • घटना भएको थाहा पाउनसाथ स्थानीय प्रशासन, प्रहरी तथा अरुलाई पनि खबर गर्ने र आफू पनि सुरक्षित रहँदै त्यहाँ मानिसको ज्यान बचाउने, धनमाल सुरक्षित गर्ने तथा आगो नियन्त्रणमा लिन पहल गर्ने । 
  • आगो फैलन नदिने पहल गर्ने र आगलागी नियन्त्रण गर्ने स्रोत, साधनको सहीरूपमा उपयोग गर्ने । 
  • सबैले सहयोगको भावनाले काम गर्ने ।

आगलागी नियन्त्रणपछि,

विपत जो कसैलाई पनि आउन सक्छ, त्यसैले आगलागी वा अन्य विपतबाट पीडितलाई तत्कालै आधारभूत आवश्यकता (गास, बास, कपास) को व्यवस्था गर्न पहल गर्ने र उसलाई मनोबल उच्च राख्न उत्प्रेरित गर्दै थप सहयोग जुटाउन पहल गर्ने । 

मुख्य कुरा, 

मुख्य कुरा आगलागी हुनै नदिनु हो । यसको लागि हरेक व्यक्तिसम्म आगलागीबाट बच्न उपयाको बारेमा जानकारी पुर्‍याउनु पर्ने राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खनालले बताउनुभयो । 

सानो गल्तीको झिल्कोबाट मान्छेको ज्यान र करोडौंको धनमाल छिनभरमै सकिने भएकोले यस्ता घटना हुन नदिन हरेक व्यक्ति सचेत हुनपर्ने र व्यक्ति/व्यक्तिसम्म त्यस्ता जानकारी पुर्‍याउन सरकारी/गैह्र सरकारी क्षेत्र सबै जुट्नुपर्ने हुन्छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया