नेपाल टेलिभिजनका चारवटै च्यानल एचडी, नेपाल अब प्रविधितर्फ अगाडि बढेकाे प्रधानमन्त्रीकाे भनाई

 माघ १७, २०७५ बिहिबार १२:१७:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देश डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । 

नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताउनुभयो । उहाँले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।” 

नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उहाँले टेलिभिजनको सुरुआतसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गर्नुभयो । 

चारवटै च्यानल एचडीमा 

नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर बिहीबारदेखि एकै पटक एचडी प्रविधिमा रुपान्तरण भएको हो । 

विकासका लागि सञ्चारको नाराका साथ वि सं २०४१ मा नेपाली टेलिभिजनको इतिहासमै पहिलो नेपाल टेलिभिजन स्थापना भएको थियो । यो अहिले भूसतही माध्यमबाट ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ । 

उत्कृष्ट विज्ञापनदाता सम्मानित 

विज्ञापन एजेन्सीतर्फ उत्कृष्ट कारोबार गर्ने मिडिया हब प्रा लि, कि एड्भर्डटाइजिङ सर्भिस प्रालि र एस्पो मिडिया प्रालिका प्रतिनिधिलाई सञ्चारमन्त्री बाँस्कोटाले सम्मान प्रदान गर्नुभयो । यसैगरी हास्य शृखंलाका कलाकार मरीचमान श्रेष्ठ, राजु पौडेल, दमन रुपाखेतीलगायत कलाकारलाई सम्मान गरियो । 

टेलिभिजनको पहिलो प्रतीक चिह्न बनाउने दीपककुमार जोशीलाई र लामो समयसम्म चलेको कार्यक्रम विम्ब प्रतिविम्बका सञ्चालक गोपाल थापालाई पनि सम्मान गरियो । त्यस्तै नौ स्थानीय समाचारदाता र दीर्घ सेवा २८ जनालाई पुरस्कार घोषणा गरियो । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया