सरकारी औषधि बेच्ने अहेवमाथि कारबाही गर्न माग

 चैत १, २०७५ शुक्रबार १७:५१:३३ | शिव ढुंगाना

ओखलढुंगा – सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बेच्ने अहेवमाथि स्थानीय बासिन्दाले कारबाही माग गरेका छन् । सुनकोशी गाउँपालिका–७, च्यानमका अहेव मोहन बानियाले सरकारी औषधि बेचेको भन्दै उजुरी दर्ता गरिएको हो । 

उपचारमा आएका बिरामीमाथि दुर्व्यवहार गर्ने र निःशुल्क सरकारी औषधि बेच्ने गरेको पाइएपछि उजुरी दर्ता गरिएको स्थानीय टिका कट्वालले जानकारी दिनुभयो । ‘धेरै पटक उनीमाथि यस्ता आरोप लागे पनि उनी सच्चिएनन्, सबै स्थानीय उनीविरुद्धमा छन्’, उहाँले भन्नुभयो । 

औषधि बेचेको भेटेपछि १ सय ६८ जना स्थानीय नागरिकले बानियामाथि कारबाहीको माग गर्दै वडा नं. ७ को वडा कार्यालयमा शुक्रबार निवदेन दर्ता गराएका छन् । उनीहरुले बानियामाथि छानबिन र सरुवाको माग गरेका छन् । 

अहेव बानियाले सेवा लिन जाने सर्वासाधारणलाई गालीगलौज गर्ने गरेको, सरकारी स्तरबाट निःशुल्क रुपमा पाइने औषधिहरु बेचबिखन गरेको  निवेदनमा उल्लेख गरिएको छ । 

सर्वसाधारणलाई सुलभ सेवा भन्दा गालीगलौज गर्ने र निःशुल्क औषधि बेच्ने गरेको अर्का स्थानीय सञ्जिव खत्रीले बताउनुभयो । आरोपबारे अहेव बानियाले भने स्थानीयले झुटो आरोप लगाएको दाबी गर्नुभएको छ । उहाँले कार्यालय प्रमुख सुवोध यादवसँग आफ्नो सामान्य विवाद भएकाले उनले आफूविरुद्ध स्थानीय उतारेको आरोप लगाउनुभयो । ‘केही समय अघिसम्म आफ्नो कोठाबाट औषधि बेचेको भए पनि अहिले बेच्न छाडेको छु, निजी औषधि बेचेको थिएँ’, उहाँले भन्नुभयो । 

अहेवविरुद्धको उजुरीबारे वडाध्यक्ष श्यामबहादुर कटवालले स्वास्थ्य चौकीका प्रमुख, अहेव र स्थानीयकाबीच छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सर्वपक्षीय छलफ पछि अहेव दोषी पाइए कारबाही हुने जानकारी दिनुभयो ।

यता स्वास्थ्य चौकी प्रमुख सुवोध यादवले अहेव बानियाँको कार्यशैली ठिक नभएको बताउनुभयो । उहाँले अहेव बानियाले कोठाबाट औषधि बेच्ने गरेको पाइएपछि स्थानीयले उनीमाथि कारबाही गर्न माग गरेको भन्दै बानियासँग कुनै विवाद नरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया