सप्तरीमा वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गरिने

 जेठ ९, २०७६ बिहिबार १०:५३:११

सप्तरी – सप्तरीमा वैदेशिक रोजगारीका कारण जटिल समस्यामा परेका पीडित तथा आश्रित परिवारलाई सहयोग गर्न आकस्मिक कोष स्थापना गरिने भएको छ । 

अन्तरपालिका समन्वय बैठकले आर्थिक रुपमा विपन्न व्यक्ति  रोजगारीका लागि विदेश जाने गरेको तर विभिन्न कारणले समस्या पर्दा घर फर्कन नसक्ने, श्रम अवधि कटेका आश्रित परिवारले आर्थिक सहायता तथा क्षतिपूर्ति नपाउने र पीडित परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्न आकस्मिक कोष स्थापना निर्णय गरेको हो । 

बैठकले जिल्लाका सबै स्थानीय सरकारले संयुक्त रुपमा आकस्मिक कोष निर्देशिका बनाएर पहिलो चरणमा प्रत्येक स्थानीय तहले १ लाख रुपैयाँका दरले जम्मा गरेर स्थापना गर्ने निष्कर्ष निकालेको हो । 

यस्तै स्थानीय सरकारले वैदेशिक रोजगारीमा जाने, अनुभव लिएर फर्किएका र तिनका परिवारका सदस्यलाई लक्षित गरी सीप विकासका कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट भित्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रेरित गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ । 

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गैर सरकारी संस्था महासंघ तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामी हेल्भेटास नेपालका प्रतिनिधिसहितको उपस्थिती थियो ।

सप्तरीबाट वैदेशिक रोजगारीमा जाने युवाले दलाललाई विश्वास गर्ने, सूचना नलिई जाने गरेक कारण धेरै ठगीमा पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारका धेरै सकारात्मक पक्षहरु हुँदा हुँदै पनि सीप नसिकी जाँदा ठगिने समस्या बढेको कार्यक्रमका सहभागीले बताएका थिए । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया