दुबई छोडेर मटन भुटन

 जेठ ११, २०७६ शनिबार ९:५६:१८ | रासस

चितवन -  विदेशमा ६ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्‍यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो । दुबईमा मासिक  ३० हजार  रुपैयाँ हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुहुन्छ ।

भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी २०६० सालदेखि ६ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किनुभयो । चोक बजारमै काकाले सुरुवात गरेको होटल उहाँले सम्हाल्नुभयो । होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो भुटन र मटन । उत्साहित हुँदै अधिकारीले भन्नुभयो, 'पहिलो दिनमा मैले  छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।' उहाँको होटलमा दैनिक स्थानीय जातको खसी काटेर  भुटनका परिकार बनाइन्छन् ।

व्यापार बढ्दै गएपछि उहाँ उत्साहित हुँदै जानुभयो । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाउनुभयो । अधिकारीले अहिले दैनिक १५ हजारको हाराहारीमा व्यापार गर्नुहुन्छ । श्रीमती अम्बिका र एकजना कामदारले उहाँलाई सघाउँदै आएका छन् । उहाँले भन्नुभयो, 'विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।' दुई सन्तान छन् अधिकारीका । छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउनुहुन्छ ।

 एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उहाँको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उहाँका नियमित ग्राहकजस्तै छन् ।

आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भन्नुभयो, 'लगन लगाएर काम गर्‍यो भने नेपालमै केही गर्न सकिन्छ ।' नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उहाँले गर्नुभएको छ 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया