‘मलेसियाको जेल र सुँगुरको खोर एकै हो’

 जेठ १९, २०७६ आइतबार १६:५:५८ | सन्जिता देवकोटा

काठमाण्डौ – चार, पाँचजनासम्म अट्ने सानो कोठामा ४० देखि ५० जनासम्म मान्छे ! खाने त्यहीँ । बस्ने त्यहीँ । अनि दिसापिसाब गर्ने पनि त्यहीँ । ‘मलेसियाको जेल त हाम्रो गाउँको सुँगुरको खोरजस्तै हो’ रामेश्वरले मलेसियाको जेल जीवन सुनाउँदै भन्नुभयो ।

३४ वर्षको हुनुभयो, रामेश्वर ऋषिदेव । सुनसरीको इनरुवा कानुन टोल घर भएका उहाँ २०७० सालमा रोजगारीका लागि मलेसिया जानुभएको थियो । बिरानो देशमा पुग्दा दुःख त कति भए भए । तर त्यस्तो अनुभव कहिल्यै भएन, जुन एक दिन जेल बिताउँदा भयो । 

भन्नुहुन्छ, ‘जस्तो हाम्रो गाउँको सँगुरको खोर नि, त्यस्तै हो मलेसियाको जेल, तपाईँ एक दिन सुँगुरको खोरमा सुँगुरजस्तै बनेर बस्न सक्नुहुन्छ ? सक्नुहुन्न नि ! तर त्यहाँ त नेपाली वर्षौंदेखि बसिरहेका रहेछन् ।’

धेरैले वर्षौंसम्म जेल बिताए पनि उहाँले एक दिन मात्रै हो जेल बसेको । त्यहाँको प्रहरीले उहाँलाई बिहान समातेर राती १० बजेसम्म जेलमा राखेका थिए । कारण ठूलो थिएन ।

करार पत्रमा काम क्लिनरको लेखिएको थियो । उहाँले काम चाहिँ सप्लाई कम्पनीमार्फत प्याकेजिङको गरिरहनुभएको थियो । करारभन्दा फरक काम गरेको निहुँमा जेलको सास्ती खेप्नु पर्‍यो रामेश्वरलाई । त्यो पनि काम गर्न थालेको तीन वर्षपछि ।

 ‘एकाबिहानै प्रहरीले समातेर लग्यो, मलाई त एक दिन पनि एक वर्षझैं लाग्यो त्यहाँ, जेलमा धेरैजसो नेपालीहरु थिए, त्यहाँ दिने सास्ती सम्झेर म त एक दिनमै झण्डै बौलाएँ, बिचरा महिनौंदेखि दाजुभाइ कसरी बसेका होलान् ?’ अत्यास मान्दै रामेश्वरले भन्नुभयो । 

चरालाई दिने चारो जति पनि मिल्दैन जेलमा खान । फोहोर उस्तै । ‘मानिस भएर पनि एकै ठाउँमा दिसापिसाब गरेर त कसरी बाँच्नु ?’ रामेश्वरलाई यस्तै लाग्छ । तर बाध्यताले दपेट्दै जेल परेकाहरुसँग अर्को विकल्प पनि त छैन । 

‘नेपालीका दुःख मलेसियाका जेलमा गएर हेर सरकार !’

रामेश्वरलाई त्यो जेल सम्झनै मन लाग्दैन । जहाँ मानिसलाई मानिसको व्यवहार गरिंदैन । मानवता भेटिंदैन । रामेश्वर भन्नुहुन्छ, ‘जेलमा हामीलाई यस्तो व्यवहार गरिन्छ कि मानौं हामी मानिस नै हैनौं ।’

उहाँलाई लाग्छ, सरकारले मलेसियाका प्रत्येक जेलमा गएर आफ्ना नागरिकको पीडा सुनोस् । आफ्नै आँखाले उनीहरुका पीडा देखोस् र अनुभव गरोस् ।

‘अरु देशका नागरिक जेल परेमा उनीहरुको दूतावास तत्काल पुग्छ तर हाम्रो त्यहाँ पशुको जति पनि मूल्य छैन,’ रामेश्वर गुनासो गर्दै भन्नुहुन्छ, ‘मानिसको मोल नहुने त्यो जेल सम्झँदा अहिले पनि आँसु झर्छ, तर हाम्रो पीडा सुन्छ र कसले ?’

एक दिन जेल बिताएर रामेश्वर नियमित काममा लाग्नुभयो । तर काम गर्न थाल्दा जेलकै सम्झनाले धेरै सताउँछ ।

गाउँमै काम गर्ने रहर भए पनि बाध्यताले विदेश पुर्यायो

रामेश्वरको रहर थियो, गाउँठाउँमै केही गर्ने । परिवारकै साथमा बसेर दुःखसुखसँग लड्ने । तर दिनभरी मजदुरी गर्दा पेट भर्न मात्र ठिक्क । अलि बचत हुने काम कहाँ पाउनु ?

आफैं व्यापार व्यवसाय गरौं भने धन चाहिन्छ । अर्काको नोकरी गरौं भने हैसियत चाहिन्छ । तर परदेश जान केही चाहिँदैन । पैसा दिने साहु हुन्छन् । पठाइदिने म्यानपावर र एजेण्ट । 

सुनसरीमा मजदुरी गर्दागर्दा गलेका रामेश्वरलाई एजेण्टले मलेसियाको सपना देखाए । त्यही सपना पूरा गर्न ९० हजार रुपैयाँ तिर्नुभयो र उड्नुभयो मलेसिया । 

मलेसियामा काम गर्न त गाउँमा भन्दा दुःख भयो । गाउँमा दुःख गर्दा ज्यान गल्थ्यो । तर मन बलियो हुन्थ्यो । किनकी परिवारको साथ थियो । तर परदेशमा त्यही परिवारको यादले मनै गलाउँथ्यो । सुविधासम्पन्न शहर पनि फिक्का लाग्यो रामेश्वरलाई । 

‘परिवारको याद आउने, छोराहरु आँखै अगाडि नाच्ने, दुई वर्षसम्म त रोएर काम गरें नि,’ रामेश्वर मन अमिलो पार्दै सुनाउनुहुन्छ, ‘मैले त बोशलाई पटक पटक घर पठाइदे पनि भनेको हुँ, तर पठाएन र मात्रै मलेसियामा टिकेँ ।’

बिस्तारै बानी पर्दै गयो मलेसियाको कामसँग । अनि, परिवेशसँग । कमाउनका लागि परिवार छाड्ने आँट गरेको मान्छेलाई परिवारकै यादमा बहकिएर रित्तो हात फर्किने छुट पनि थिएन । परिवारको सपना पूरा गर्नु थियो । अनि भर्नु थियो आफ्नो जीवन पनि । जसोतसो सम्हाल्नुभयो आफूलाई । 

महिनाको १ हजार ५० रिंगिट थियो कमाइ । आफ्नो खर्च कटाएर महिनैपिच्छे श्रीमतीका नाममा पैसा पठाइदिनुहुन्थ्यो । 

आफूलाई दिएको जिम्मेवारी ज्यान दिएर भए पनि पूरा गर्ने बानी छ भन्नुहुन्छ, रामेश्वर । नहाँसी नबोल्ने । कोहीसँग पनि नरिसाउने । रिसाए पनि आफैं फकाउने । यो बानीले मलेसियामा उहाँलाई फाइदा पुर्‍यायो । 

उहाँलाई लेबरबाट एउटा समूहको ‘लिडर’ बनाइयो । जिम्मेवारीसँगै तलब पनि बढ्यो । १ हजार ५० रिंगिटबाट बढेर १५ सय रिंगिट भयो मासिक तलब । ग्रिन लुक म्यानेजमेन्ट कम्पनीमा काम गर्नुहुन्छ, रामेश्वर । 

मलेसियाको कमाइले बन्दैछ रामेश्वरको घर

कमाइ धेरै होस् या थोरै, बचाउने तरिका भएन भने त्यसको अर्थ हुँदैन । अझ भनौं, जति कमाए पनि बच्दैन । कमाइ जति होस्, त्यसलाई बचाउन जान्नु पर्छ । रामेश्वरले यो कुरा बुझ्नुभएको छ । 

विदेश जानुअघि घर थिएन । आफ्नो भन्ने जग्गा थिएन । सरकारी जग्गामा बनाएको झुप्रोमा वर्षौंसम्म जिन्दगी बित्यो । रामेश्वरलाई परदेशको कमाइले केही नभए पनि बासको व्यवस्था गर्नु थियो ।

पाँच वर्ष भयो, उहाँ मलेसिया गएको । अहिले गाउँमा बन्दैछ रामेश्वरको घर । अनि बढ्दै छ उहाँको मलेसियाको तलब पनि । १ हजार ५० रिंगिट कमाउँदा होस् या १५ सय रिंगिट । उहाँले जतिसक्दो खर्च घटाएर बचत बढाउनुभयो । 

‘मैले त जति कमाएँ, त्यति नै महिनैपिच्छे श्रीमतीलाई पठाइहालें, त्यसैले त यहाँ घर बन्दैछ, नत्र त कहाँ पूरा हुन्थ्यो होला र मेरो सपना ?’ बन्दै गरेको घर देखाउँदै रामेश्वरले गर्वका साथ भन्नुभयो । 

मलेसियाकै कमाइले गाउँमा एक तले पक्की घर बन्दैछ । पाँच वर्षमा तीन महिनाको घर बिदा लिएर आएका रामेश्वर भन्नुहुन्छ, ‘अब यो घर पूरा नहुँदासम्म मलेसियामै बस्छु, अनि फर्केपछि चाहिँ विदेश जान्नँ ।’

‘जेलमा बास र फर्किंदा बाकस नहोस्’

परदेशमा सुख छैन । जता फर्किए पनि दुःखैदुःख छ । तर दुःख गरेर कमाउन गएकाले सुख खोज्नु हुँदैन भन्नुहुन्छ रामेश्वर । 

रामेश्वरका तीन छोरा छन् । उनीहरुलाई पढाउँदै घरको गारो पनि बढाउँदै हुनुहुन्छ उहाँ ।

‘त्यहाँ हुने दुःख र जेल सम्झने हो भने त परिवार छाडेर नजाउँ जस्तो लाग्छ तर दुःख नगरी सुख कसरी हुन्छ र ?’ रामेश्वर हाँस्दै भन्नुहुन्छ ।

दुःख भयो भन्दैमा काम छाडेर गैरकानुनी हैसियतमा काम नगर्न सुझाव दिनुहुन्छ रामेश्वर । ‘पासपोर्टबिनै काम गर्दा दुई चार दिन राम्रो भए पनि पछि गएर कि त जेलको कि त जंगलको बास हुन्छ,’ कुरा टुङ्ग्याउने बेला रामेश्वरले थप्नुभयो –

कति होलान् परिवारको आश 

नहोस् कहिल्यै परदेशीको जेलमा बास

सुन्न नपरोस्, देख्न नपरोस्,

कमाउन गएको परदेशी सुतेर फर्किएको त्यो बाकस ।
 

अन्तिम अपडेट: भदौ २२, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया