सरकारको कामको समीक्षा गर्न नेकपाका शीर्ष नेताहरुको सुझाव

 असार ८, २०७६ आइतबार ८:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकार र पार्टीको कार्यशैलीबारे नेताहरुले असन्तुष्टि जनाएका छन् ।  झन्डै तीन सातापछि शनिबार बसेको बसेको नेकपा सचिवालयको बैठकमा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार र पार्टी राम्रो तरिकारले चल्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पार्टीभित्र स्पष्ट नीति र छलफल नहुँदा सरकार र पार्टी दुबै राम्ररी चल्न नसकेको भन्दै अब सरकारको कामको समीक्षा गर्न नेताहरुले सुझाव दिएका छन् । संसदमा विधेयक दर्ता गर्नुअघि व्यापक छलफल हुनुपर्नेमा त्यसो नभएकै कारण सडक र सदनसम्म विरोध भएको उनीहरुको टिप्पणी थियो ।

पार्टी एकता भएको वर्ष दिन बितिसक्दा समेत राजनीतिक दस्तावेज तयार नभएकोले कार्यकर्तामा अन्योल भएको भन्दै शीर्ष नेताहरुले छिटो दस्तावेज तयार पार्न सुझाव दिएका छन् ।

नेताहरुको सुझावअनुसार बैठकले वैचारिक, राजनीतिक प्रतिवेदन छिटो सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो ।

राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । ‘अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो’ उहाँले भन्नुभयो, ‘अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठकसमक्ष जानकारी दिनुभयो ।’ दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ ।

सचिवालय बैठकले पार्टी एकताका बाँकी कामलाई पनि छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ । ‘एकता एकीकरणका महत्वपूर्ण काम सम्पन्न भए पनि केही काम बाँकी छन्, बाँकी काम छिटो सक्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको छ’ महासचिव पौडेलले भन्नुभयो, ‘एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो टुङ्ग्याउने निर्णय भएको छ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया