साउदीमा सुतेको सुत्यै भए मंगलबहादुर

 असार १२, २०७६ बिहिबार १४:५७:७ | सन्जिता देवकोटा

काठमाण्डौ – गएको बिहीबार वैदेशिक रोजगार बोर्डको कार्यालयमा भिडभाड थियो । कोही कागजपत्र मिलाउँदै थिए, त कोही बसिरहेका थिए । कोही भने कर्मचारीका कोठामा ओहोरदोहोर गर्दै थिए ।

‘शव साढे आठ बजे नै जहाजले ल्याइसक्यो, तपाईँ छिटो गरी आउनुस्’ एक युवा फोनमा कुरा गर्दै थिए । विदेशबाट आएको शव घरसम्म पुर्‍याउन बोर्डले निःशुल्क गाडी उपलब्ध गराउँछ । सायद ती युवा गाडी चालकलाई फोन गर्दै थिए । 

बोर्डको सचिवालयमा आउने जसको हेर्‍यो यसको अनुहारको रंग उडेको थियो । निराश । थाकेको जस्तो । आत्तिए जस्तो । प्रायः सबै यस्तै देखिन्थे । वैदेशिक रोजगारीका कारण केही न केही दुःख नपरी बोर्डको ढोकासम्म टेक्ने कमै होलान् ।

 नुवाकोटका शुकबहादुर तामाङ पनि दोस्रो पटक बोर्डको ढोका ढक्ढक्याउन पुग्नुभएको रहेछ । पहिलोपल्ट – जेठ १० गते । साउदीबाट आएको छोराको शव घरसम्म पुर्‍याइदिने गाडीका लागि । 

दोस्रो पल्ट  : विदेशमा ज्यान गुमाउनेका परिवारलाई सरकारले दिने क्षतिपूर्ति वापतको रकम लिनका लागि । 

विदेश पुगेको छोराको फोनको प्रतिक्षामा बसिरहेका शुकबहादुरलाई छोराले संसार छाडेको खबर पो आयो । 

त्यही दिनदेखि आफूसँग आफैं बेखबर हुनुभएको छ, शुकबहादुर । बाकसमा सुतेर आएको छोराको शवलाई आफ्नै हातले दागबत्ति दिनुभएको हो । तर पनि खबर पत्याउन गाह्रो भइरहेको छ । 

मन हल्लिएको छ । घरमूली भएकाले आँसु देखाउन पो भएको छैन त । भित्रभित्रै रुनु परेको छ । छोराको सास निभेको खबर सुनेदेखि आफूलाई मात्र होइन श्रीमतीलाई सम्हाल्न पनि गाह्रो भएको छ । 

१० वर्ष मलेसियामा बिताइसकेको छोराले कम्तिमा अब घरजम घरेर आफ्नै साथमा रहोस् भन्ने इच्छा थियो शुकबहादुरको । तर त्यही छोराको ज्यानको सट्टा सरकारले दिने क्षतिपूर्ति स्वरुपको रकम लिन आइपुग्नुभएका शुकबहादुरलाई छोराको एउटै भनाइले पोलिरहन्छ ।

इच्छा पूरा गर्छु भन्दै परदेश लागेको छोरो बाकसमा फर्कियो । शुकबहादुरको त छोराको आडभरोसामा साँचेका सपना सकिए ।  ‘सपना पूरा गर्न आफ्नो वचन काटेर परदेश लागेको छोराको सपना पूरा भयो होला त ?’ शुकबहादुरको मन खिन्न हुन्छ । 

मर्नलाई विदेश पठाएझैं भयो

पातलो ज्यान । अलिअलि चाउरिन थालेको अनुहार । रंग उडिसकेको अनुहारको । देख्दै लाग्थ्यो, पीडाको ठूलै पहाडले छोपेको छ, उहाँलाई ।

‘३१ वर्षको छोरा बाकसमा फर्कियो यो भन्दा दुःख के हो मानिसको जीवनमा,’ शुकबहादुर भन्नुहुन्छ, ‘म त मन बुझाउँछु तर उसको आमाको बिजोग छ ।’

शुकबहादुरका छोरा मंगलबहादुर तामाङ १० वर्ष मलेसियामा बसेर फर्किएका हुन् । त्यतीका वर्ष मलेसिया बसेर फर्किएकाले पनि छोरो फेरि विदेश नगइदेओस् भन्ने चाहना थियो शुकबहादुरको । 

उहाँले रोक्ने कोशिस पनि गर्नुभयो छोरालाई । तर बुवाको कुरा मानेनन् मंगलबहादुरले । ‘मैले नजाउ बाबु, हामी गाउँमा एक्लै छौ, हाम्रो लागि भए पनि बस भनेको, हैन बुवा मेरो सपना पूरा गर्छु भन्यो, मानेन, त्यसो भए जाउ भने,’ शुकबहादुर त्यो क्षण सम्झँदै भन्नुहुन्छ, ‘तर मर्न पठाएजस्तै भयो, कालले नै बोलाएछ ।’

मंगलबहादुरले दश वर्षपछि परिवारसँग दशैं तिहार मनाउनुभयो । चाडवाड सकिएपछि काठमाण्डौ आउनुभयो । भिसाको प्रक्रिया छोराले कहिले थाल्यो भन्ने थाहा पाउनुभएन शुकबहादुरले । २०७५ मंसिरमा मंगलबहादुरले आफ्नो साउदी उड्ने दिन नजिकिएको खबर दिए ।

 ‘म आउनु पर्छ त बाबु भनेको, पर्दैन बुवा, म गइहाल्छु भन्यो, जान त गयो तर फर्किएर आएन,’ शुकबहादुर पीडा पोख्नुहुन्छ । 

छोराको फोन कुरिरहेका शुकबहादुरलाई छिमेकीले दिएको त्यो खबर

छोरा साउदी उडेको खबर त पाउनुभयो शुकबहादुरले । तर कतिबेला पुग्यो, के काम पायो केही थाहा भएन । छोराले फोन नै गरेका थिएनन् । छोराले फोन गर्ला भन्ने आश थियो शुकबहादुरलाई ।  

२०७५ चैत २८ गते छिमेकीले उहाँलाई पत्याउनै नसकिने खबर दिए । छोरो साउदीमा सुतेको सुतेकै भएको थियो खबर । छोराको खबरले शुकबहादुर झस्कनुभयो। 
सुरुमा त पत्याउनुभएन । यताउता आफन्तकहाँ बुझ्नुभयो । खबर पक्का थियो । ‘दिनभरी काम गरेर फर्किएको थियो रे, सुतेको सुतेकै भएछ ।’ 

शुकबहादुरलाई लाग्छ छोरा स्वस्थ्य नै थियो । ग्यास्ट्रिक बाहेक केही पनि भएको थिएन । सुतेको छोरो बिउँझिएन भन्ने कुरा पत्यार लागेको छैन । नपत्यार पनि सुख छैन । परदेशमा के कस्तो थियो उहाँले बुझ्न पाउनुभएको हैन । 

४२ दिन पछि आयो शव

छोराको मृत्युको खबर त त्यसै दिन आयो जुन दिन छोराले संसार छाड्यो । तर शव आउन भने ४२ दिन कुर्न पर्‍यो । 

छोराको मृत्युको खबर सुनेपछि घरमा आमा बिरामी परिन् । शुकबहादुरलाई श्रीमती सम्हाल्दै छोराको शव कुर्न पलपल मर्दै बाँच्दै गर्न पर्‍यो । जेठ १० गते शुकबहादुर आफैं आउनुभयो छोराको शव बुझ्न । इच्छा पूरा गर्ने सपनाको भारी बोकेर परदेशिएको छोरो बाकसमा सुतेर फर्कियो ।

गाली गर्न मन थियो शुकबहादुरलाई । आफूले भनेको मानेको भए, शायद छोराको मलामी बन्न पर्दैन थियो । शुकबहादुरको मन यस्तै गुनासोले भरिएको थियो । नहुनु भइसक्यो । 
शोकमा डुबेको छ परिवार । मंगलबहादुरकी आमा बेहोशी अवस्थामै छिन् । शुकबहादुर भन्नुहुन्छ, ‘जवान छोरो गुमाउनुको पीर लिएर बाँच्न पर्ने भयो बुढेशकालमा ।’
 

अन्तिम अपडेट: साउन ३२, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया