चिया बेचेर बहराइनबाट श्रीमान फर्काउने उर्मिला

 साउन २३, २०७६ बिहिबार १०:१४:३१ | सन्जिता देवकोटा

काठमाण्डौ – चिया बेचेर पनि जिन्दगी चल्छ ? ‘भने जसरी नै चल्छ,’ डेक्चीमा उम्लिरहेको चिया गिलासमा खन्याउँदै उर्मिला थापाले भन्नुभयो, ‘मेरो त चलेको छ, तपाईँ कस्तो जीवन जिउने त्यसमा भर पर्छ ।’ 

‘चिया र दुनोट बेच्ने, यसैमा रमाउने,’ यो उर्मिलाले रोजेको जीवन हो । 

आफूसँग भएको कुरामा खुशी हुन सक्नु, अनि आफ्नालाई पनि त्यसमा रमाउन सिकाउनु उर्मिलाको खुबी हो । नत्र त यतिबेला उर्मिलाका श्रीमान् बहराइनमा पसिना बगाइरहेका हुन्थे होलान्  । उर्मिला चाहिँ परदेशिएका श्रीमानको बाटो हेर्दै हुनुहुन्थ्यो होला ।

तर उर्मिलाले त्यस्तो हुन दिनु भएन । आफैंले मेहनत गरेर यो परिस्थितीलाई पाखा लगाउनुभयो । चिया बेचेरै परदेशिएका श्रीमानलाई परदेशबाट फर्काउनुभयो । 

मानिसले सोचेजस्तो भाग्यअनुसार भविष्य तय हुने हैन । आफ्नै मेहनतले भविष्यको बाटो कोर्न सक्नुपर्छ । उर्मिला भन्नुहुन्छ , ‘यो मेरो जीवनको बाटो हो ।’ उर्मिलाले अहिले तय गरेकाको बाटो बुझ्न २० वर्षअघि फर्किनुपर्छ ।

२० वर्षअघि..

उर्मिला एक गार्मेन्टमा काम गर्नुहुन्थ्यो । त्यही उद्योगमा काम गर्नुहुन्थ्यो उहाँका श्रीमान पनि । 

‘त्यो बेलामा पनि हामीले त लभ म्यारिज गरेका हौं, माया नै त रहेछ ठूलो,’ उर्मिला बिहे गर्दाको क्षण सम्झनुहुन्छ । बिहेपछि पनि दुवैले दुवै मिलेर काम गरे । कमाइले घर चल्थ्यो । परिवार खुशी थियो । त्योभन्दा बढी चाहिएको पनि थिएन उर्मिलालाई । 

दुई छोरा जन्मिए । छोराहरु स्कुल जाने भएपछि उर्मिलाले गार्मेन्टको काम छाड्नुभयो । तर काम गरेर खान बानी परेको मान्छेको मन खाली बस्न किन मान्थ्यो र !

त्यसबेलासम्म पनि उर्मिलालाई व्यवसाय गर्छु भन्ने सोच पलाएकै थिएन । छिमेकी एक महिलाले पसल बेच्ने भइन । पसल बेच्नुको मुख्य कारण नचल्नु नै थियो ।

‘त्यो पसल मलाई किन्न खासै मन थिएन, तर खाली बस्नुभन्दा गरी हेरौं न भनेर सुरु गरेको, यतै रस बस्यो नि,’ हाँस्दै भन्नुहुन्छ उर्मिला ।

त्योबेला कीर्तिपुरको सुन्दरीघाट अहिलेजस्तो थिएन । त्यो बाटोमा मान्छे कमै हिँड्थे । व्यापार पनि खासै हुँदैन थियो । त्यसमाथि छिमेकीले नचलेर बेचेको पसल । उर्मिलालाई डर थियो । तर पसल उर्मिलाले चलाउन थालेपछि सोचेभन्दा फरक भइदियो । 

पसलमा व्यापार बिस्तारै बढ्न थाल्यो । घाटा होला भनेर सुरु गरेको काममा नाफा मिल्न थाल्यो । ‘व्यापार पनि एउटा कला रहेछ, चिया मात्रै मिठो पकाएर कहाँ हुन्छ र ? व्यवहार पनि चिया जस्तै मिठो हुनपर्छ,’ उर्मिला भन्नुहुन्छ ।

चिया पसलबाट घर व्यवहार चले पनि श्रीमानले विदेश जाने रहर गरे । रहर गर्नेलाई किन रोक्ने ? मनले चाहेको जे पनि गर्नुपर्छ भन्नुहुन्छ, उर्मिला । भिजिट भिसामा कमाउने आश बोकेर उर्मिलाका श्रीमान् बहराइन उडे । उर्मिला भने आफूले गरिरहेको काममा मेहनत गरेर लागिरहनुभयो । 

भिजिट भिसामा उडेका श्रीमानको काम र कमाइ त्यति गतिलो परेन । महिनाको ३० हजार रुपैयाँसम्म मुश्किलले कमाइ हुन्थ्यो । 

‘सात समुद्र पारी पुगेर पनि जाबो २५/३० हजारलाई त के कमाइ भन्नु, बरु मै कमाउँथें यहाँ चिया बेचेर त्यति त’ उर्मिला सुनाउनुहुन्छ । तै पनि उहाँले श्रीमानलाई भएको कमाइमा रमाउन हौसला दिनुभयो । 

तर मनमा कताकता टाढा हुँदाको पीडाले घोचिरहन्थ्यो । घर परिवारसँग टाढा बसेर हुने कमाइभन्दा साथैमा हुँदाको कमाइ अमूल्य हुन्छ भन्ने लाग्न थाल्यो । ‘फर्किएदेखि मिलेर काम गर्नुहुन्थ्यो’ उर्मिलाको कामना यही थियो । 

साढे दुई वर्षपछि घर बिदामा श्रीमान फर्किए । छोराले भन्दा बढी मेहनत र कमाइ बुहारीले गरेको देखेका सासुससुराले उर्मिलालाई सहयोग गरे । छोरालाई विदेश नजान आग्रह गरे । 

‘उहाँको भन्दा त मेरो कामाइ राम्रो थियो, सासुससुराले त्यही भएर पनि नजाऊ, बुहारी एक्लै दुःख गरिरहेको छ, मिलेर काम गर भन्नुभएछ,’ उर्मिला श्रीमानलाई विदेश जान रोक्दाको त्यो क्षण सम्झदै भन्नुहुन्छ, ‘यो काम थिएन भने त कहाँबाट रोक्न सक्नु, कमाउन नजाउ भन्ने आँट पनि त आउने थिएन होला ।’

श्रीमान साथैमा हुँदाको खुशी

घर बिदामा आएका श्रीमान फेरि विदेश नजाने हुँदा उर्मिलाको खुशीको सीमा नै रहेन । बिहानै पसल खोल्न जान सजिलो हुने भयो । छोराहरुलाई लेखपढ गराउन बुवा साथैमा हुने भए । काममा सजिलो हुने भयो । श्रीमान साथैमा हुँदाको फाइदा त कति कति !

धेरै कमाउँ, टन्न गरगहना लगाउँ, घुमौं, खाउँ भन्ने कहिल्यै लागेन उर्मिलालाई । दुःख होस् या सुख आफ्नाहरु साथैमा भइदिउन् । उर्मिलाको मनोकामना थियो यो । 

बढ्दै गरेका छोराहरुलाई घरमा छाडेर काममा खटिंदा मन घरमै हुन्थ्यो । ‘छोराहरुलाई उनीहरुको बुवा भएजस्तो त के हुन्थ्यो र, अर्कै पीर हुन्थ्यो’ उर्मिला सुनाउनुहुन्छ ।

श्रीमान घरमै हुने भएपछि मन हलुका भयो । काम गर्न उर्जा मिल्यो । 

श्रीमान परदेश लागेपछि सुख खोज्दै शहर पस्नेहरु देख्दा उर्मिलालाई उदेक लाग्छ । ‘आफ्नो लागि मेहनत आफैं गर्नु पर्छ । मेहनत गर्ने हो भने असम्भव केही छैन । विदेश पनि जान पर्दैन’ उहाँ भन्नुहुन्छ । 

बिहान ५ बजे पसल खोल्न सुन्दरीघाट पुग्नुहुन्छ । उहाँका श्रीमान चाहिँ मर्निङवाकमा निस्कन्छन् । मर्निङवाक सकेर श्रीमान् पसलमा पुग्छन् । उर्मिला खाना पकाउन घरतिर लाग्नुहुन्छ ।

खाना खाएपछि फेरि कामको बाँडफाँड हुन्छ । बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म कुपण्डोलको एक कम्पनीमा काम गर्न जान्छन् उर्मिलाका श्रीमान् । उर्मिला चाहिँ पसल चलाउनुहुन्छ । 

व्यवसाय राम्रो चलिरहेको छ । बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खट्दा सालाखाला महिनाको ३० हजार रुपैयाँ बचत हुन्छ ।

‘मलाई त धेरै तडकभड्क गर्न मन पर्दैन, म त यस्तै छु, सानो सानो कुरामा पनि खुशी हुन र रमाउन सक्छु,’ उर्मिलाले आत्मसन्तुष्टी बताउनुभयो । 

सबै चिज एउटा गतिमा हुनपर्छ भन्नुहुन्छ, उर्मिला । आफू ४१ वर्षको हुँदा, अहिलेको आफ्नो गतिलाई ठीक मान्नुहुन्छ उहाँ । 

‘अरुले यसो गरे भनेर आफू पनि त्यसै गर्छु भनेर लाग्यो भने त चिया बेचेर पुग्छ त ?’ प्रश्नको उत्तर दिँदै भन्नुहुन्छ, ‘आफ्नो जीवन आफ्नै तरिकाले जिउनु पर्छ, नत्र त चिया हैन घरबार बेच्नु पर्छ, फेरि श्रीमानलाई विदेश पठाउनु पर्छ ।’


 

अन्तिम अपडेट: भदौ २५, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया