अष्ट्रेलियामा अखबारकाे पहिलाे पाना किन कालाे छापियाे ?

 कात्तिक ४, २०७६ सोमबार १२:१४:२ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियामा एउटा घटनालाई लिएर सोमबार देशको सबै अखबारको पहिलो पाना कालो छापिएको छ । 

अष्ट्रेलियामा सञ्चारमाध्यममाथि लगाम लगाउने कोसिसको विरोध गर्दै अखबारहरुले यो कदम उठाएका हुन् । सरकारको कडा कानुनले मानिसहरुले सूचना पाउने क्रम रोकिने अखबारहरुले बताएका छन् । 

अष्ट्रेलियाको ठूलो सञ्चारमाध्यम समूह अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पाेरेशन (एबीसी) को मुख्यालय र एक जना पत्रकारको घरमा छापा पारेको घटनालाई लिएर अखबारहरुले त्यसको विरोधमा अखबारको पहिलो पाना कालो छाप्ने तरिका अपनाएका हुन् । 

व्हिसलब्लोअर्सबाट 'लिक' भएको जनकारीहरुको आधारमा केही लेखहरु प्रकाशित भएपछि छापा मारिएको थियो । 

अखबारहरुको यो अभियान ‘राइट टु नो कोएलिशन’ लाई कैयौँ टेलिभिजन, रेडियो र अनलाइन समूहले पनि समर्थन गरिरहेका छन् । 

यो अभियान चलाउनेहरुका अनुसार पछिल्लो दुई दशकमा अष्ट्रेलियामा निकै कडा सुरक्षा कानुन ल्याइएको छ, जसले गर्दा खोजी पत्रकारिता धरापमा पर्दैछ । 
गएको वर्ष नयँ कानुन ल्याइएको थियो, त्यसपछि सञ्चारमाध्यमका पत्रकार र व्हिसलब्लोअर्सलाई संवेदनशील विषयमा रिपोर्टिंगमा छुट दिनका लागि अभियान चल्दै आएको छ । 

सोमबार अष्ट्रेलियाको सबैभन्दा ठूलो अखबार र अन्य अखबारहरुले एकजुटता देखाउँदै आफ्नो मुख्य पृष्ठमा लेखिएको सबै शब्दलाई कालो मसीले पोतिदिएका थिए । त्यसमाथि लालमोहर लगाइएको थियो, जसमा ‘सिक्रेट’ लेखिएको थियो ।

यी अखबारहरुले राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिंगमा अंकुश लगाइएको र देशमा ‘गोपनियताको संस्कृति’ बनेको बताएका छन् ।   

अष्ट्रेलियाको सरकारले भने प्रेस स्वतन्त्राको समर्थन गर्ने तर कानुनभन्दा ठूलो कोही पनि नभएको टिप्पणी गरेको छ । 

गएको जुन महिनामा एबीसीको मुख्यालय र न्युज कर्प अष्ट्रेलियाका एक पत्रकारको घरमा छापा मारिएपछि निकै विरोध भएको थियो । सञ्चारमाध्यम संगठनले लिक गरिएको जानकारीको आधारमा केही रिपोर्टहरु प्रकाशन भएपछि छापा मारिएको बताएका छन् । 

यीमध्ये एक रिपोर्टलाई युद्ध अपराधको आरोप लगाइएको थियो भने अर्काे एउटा रिपोर्टमा एक सरकारी एजेन्सीमाथि अष्ट्रेलियाली नागरिकको जासुसीको आरो लगाइएको थियो । 

न्युज कर्प अष्ट्रेलियाका कार्यकारी अध्यक्षले आफ्नो अखबारको मुख्य पृष्ठको तस्बिर ट्वीट गर्दै मानिसहरुलाई सरकारसँग ‘उनीहरु हामीसँग के लुकाउन चाहिरहेका छन् ?’ भनेर प्रश्न गर्न भनेका थिए ।

त्यस्तै न्युज कर्पको मुख्य प्रतिद्वन्द्वी ‘नाइन’ले पनि आफ्नो अखबार ‘सिड्नी मर्निंग हेरल्ड’ र ‘द एज’ को पहिलो पाना कालो छापेका छन् । 

एबीसीका प्रबन्ध निर्देशक डेभिड एन्डरसनले भने, ‘अष्ट्रेलियामा विश्वको सबैभन्दा गोपनीय लोकतन्त्र बन्ने खतरा बनिरहेको छ ।’

तर अष्ट्रेलिया सरकारले आइतबार यी छापालाई लिएर तीन जना पत्रकारविरुद्ध अभियोग चलाउन सक्ने बताएको छ । 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले प्रेस स्वतन्त्रता महत्वपूर्ण रहेको तर कानुनको शासन कायम रहिरहनुपर्ने बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया