आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
लमजुङ – सुन्दरबजार नगरपालिका ६ ऐंसेलुचौरकी शान्ता सुनारको घर वरिपरि ढकमक्क फूल फुलेका छन् ।
आँगन, बारीको डिलमा पहेँलपुर फुलेका फूलले उहाँलाई तिहार आएको महसुस गराएको छ । फूल र रंगको पर्वको रुपमा चिनिएको तिहार नजिकिएसँगै घर वरपर फुलेका फूललाई उहाँले जतनका साथ जोगाइ राख्नुभएको छ ।
‘रंगीचंगी फूल फुलेका छन् । ढकमक्क फूलले तिहार आएको आभास गराएको छ’, उहाँले भन्नुभयो, ‘तिहार नजिकिँदैछ । दाजुभाइलाई टीका लगाइदिँदा फूलको माला चाहिन्छ, त्यसैले जतनका साथ फूल जोगाइरहेको छु ।’
शान्ताले बर्सेनि तिहारमा आफ्नै घर–आँगन, बारी र कान्लामा फुलेका फूलको माला दाजुभाइलाई लगाइदिँदै आउनुभएको छ । उहाँले अहिलेसम्म बजारमा पाइने कृत्रिम माला र फूल पनि किन्नुभएको छैन ।
उहाँका अनुसार तिहारलाई आवश्यक पर्ने फूल आँगन र बारीका डिलमा उत्पादन गर्न सकिन्छ । आवश्यक फूल घरगाउँमै उत्पादन गर्नसके सजावटी फूल किन्ने पैसा जोगिन्छ ।
घरमै फुलेको, आफैँले टिपेर गाँसेको सयपत्री, मखमली, गुर्दौली फूलको माला दाजुभाइलाई लगाइदिनुको महत्त्व बेग्लै हुने लमजुङको फेदीकुना ढकाल गाउँकी कविता ढकाल बताउनुहुन्छ । ‘त्यसरी दाजुभाइलाई फूलको माला, सप्तरंगी टीका लगाइदिँदाको महत्त्व र खुशी छुट्टै हुन्छ,’ उहाँले थप्नुभयो ।
पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । तिहारका साथै विभिन्न पर्व, मेला, उत्सव र कार्यक्रममा फूल र फूलको मालाको माग बढ्दो छ । फूल र फूलको मालाको मागसँगै मूल्य पनि राम्रो छ ।
व्यवसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने व्यवसायीहरु बताउँछन् । आयातित फूल, माला किन्नुभन्दा घरमै फूल हुर्काउनसके कृत्रिम फूल र माला किन्ने पैसा जोगिन्छ । र मौलिक सँस्कार, सँस्कृतिको संरक्षणमा पनि टेवा पुग्छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।