हिउँले हुम्ला सेताम्य, शनिबार घाम लागेपछि भने केही राहत

 मंसिर २८, २०७६ शनिबार १३:६:३९ | रमेश ऐडी
unn.prixa.net

हुम्ला - गएको बुधबारदेखि मौसममा आएको परिवर्तनले हुम्लामा हिमपात हुँदा सदरमुकाम सिमकोट सेताम्य भएको  छ ।

बिहीबार र शुक्रबार पनि दिनभर हुम्लाका विभिन्न ठाउँमा हिउँ परेको थियो । चिसोका कारण जनजीवन प्रभावित भएको छ । हावाहुरीसँगैको हिमपातले जाडो निकै बढेको छ । शनिबार बिहानदेखि भने घाम लागेकाले मानिसहरु बाहिर निस्केर घाम तापेर बस्न थालेका छन् ।  स्थानीय नागरिक घर आँगनमा जम्मा भएको हिउँ पन्छाउन थालेका छन् ।

हिमपातका कारण सिमकोट विमानस्थलका सबै उडान प्रभावित भएका छन् । सिमकोट विमानस्थलमा बाक्लो हिउँ जमेको छ । विमानस्थलको धावनमार्गमा २ फीटसम्म हिउँ जमेको छ ।

विद्यार्थी मर्कामा

सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरुमा सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी विद्यार्थीहरुलाई धौधौ भएको छ । शुक्रबारदेखि कक्षाकोठामै आगो बालेर विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

धेरै विद्यार्थीहरु समय नसकिँदै चिसोले परीक्षा हल छोडेर भागेका थिए । आधारभूत तहका विद्यार्थी चिसोले गर्दा परीक्षा हलमै रोइरहेका थिए । 

अन्तिम अपडेट: चैत ३, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया