कोरियामा कोरोना : अहिलेसम्म नेपाली सुरक्षित छौं, परिवारलाई नअत्याउनुहोला

 फागुन ११, २०७६ आइतबार २०:१२:४४ | जाेकराज कुलुङ
unn.prixa.net

सँधैभरी हँसिलो देखिने विशाल मगर शनिबार कागती निचोरेजस्तो अनुहारमा हुनुहुन्थ्यो । अरुबेला दिनभरीको कामले खोस्न नसकेको विशालको अनुहारको चमक कोरोना भाइरसको त्रासले खोसेको हो । रोजगारीको लागि दक्षिण कोरियाको एक सिसा कम्पनीमा कार्यरत विशाललाई आफू सुरक्षित छु भन्नेमा विश्वास छ, तर कोरियामा कोरोनाको संक्रमण बढेको चर्चासँगै बागलुङमा रहेका परिवारमा बढेको चिन्ताले विशाललाई पनि चिन्ता थपेको छ ।

विशालले भन्नुभयो, ‘यहाँ कोरोनाको संक्रमण फैलिएको खबर सुनेपछि घरबाट तत्काल नेपाल फर्कन दबाब आईरहेको छ ।’

अहिले दक्षिण कोरियाको देगु प्रान्तमा कोरोनाको संक्रमण फैलिएको छ । देगुमै कार्यरत विशाल सञ्चारमाध्ययममा भएको चर्चाजस्तो आफूहरु असुरक्षित नभए पनि खबरहरुले नेपालमा रहेका आफन्तलाई धेरै पीडा दिएको बताउनुहुन्छ । 

दक्षिण कोरियाको देगु प्रान्तमै काम गरिरहेका झापाका शंकर लिम्बू पनि सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा आएका खबरले घरमा रहेका आफन्त पीडामा परेको बताउनुहुन्छ । परिवारलाई आफूहरु ढुक्क भएको बताउने लिम्बु कम्पनीको घेराभित्र बस्दा भने उकुसमुकुस भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘दुई हप्ता भयो बाहिर ननिस्किएको, बिदाको दिन पनि कम्पनीले बाहिर जान अनुमति दिएको छैन, खानेकुरा अनलाइनबाट मगाएर खाईरहेका छौं, संक्रमणकै संकट आईनसकेको भए पनि कम्पनीमै बस्दाको पीडा भने भोग्नुपरेको छ ।’

दक्षिण कोरियामा कोरोना भाइरसको कारण आइतबारसम्ममा ५ जनाले ज्यान गुमाएका छन् भने ५ सय ५६ जनामा संक्रमण भएको पुष्टि भएको दक्षिण कोरियन समाचार द कोरिया हेरल्डमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य उपमन्त्री किम गा लिपका अनुसार ६ हजार ३९ जनाले स्वास्थ्य परीक्षण गराइ रिपोर्ट कुरिरहेका छन् भने १८ जना उपचारपछि निको भई घर फर्किएका छन् । उपमन्त्री किमले कोरोना गम्भीर चरणमा प्रवेश गरेका भन्दै नागरिकहरुलाई सजग रहन अपील गर्नुभएको छ ।

तर अहिलेकै अवस्थामा कोरियामा रहेका नेपालीहरु आत्तिहाल्न नपर्ने कोरियामा रहेको नेपाली दूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले बताउनुभयो ।

बास्तोला भन्नुहुन्छ, ‘नेपाली काम गर्ने कम्पनीले सुरक्षाका उपाय अपनाएका छन्, बाहिर निस्कन दिएको छैन, कोरोना भाइरसबाट बच्नको लागि आबश्यक सुरक्षा उपायको बारेमा कक्षा पनि भैरहेकोले प्राप्त जानकारी अपनाएमा आत्तिहाल्नुपर्ने अवस्था छैन, तर सचेत रहन भनेका छौं, सचेत रहनुहुन्छ ।’

दूतावासले विज्ञप्ति निकालेर कोरोना भाइरसको शंका लागेमा कोरियाको सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई स्वास्थ्य परीक्षण तथा उपचार गर्न आग्रह गरेको छ । बिरामीको कानुनी हैसियतबारे केही नसोध्न कोरियाको अध्यागमन विभागले अस्पतालहरुलाई निर्देशन दिएकोले ढुक्क भएर परीक्षण गर्न दूतावासले आग्रह गरेको छ । दूतावासले कोरोना संक्रमण बढिरहेको देगु लगायत आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन भनेको छ । 

कोरियन सरकारले धार्मिकस्थल तथा भीडभाड हुने ठाउँमा नजान, अनिवार्य मास्कको प्रयोग गर्न, पञ्जा लगाउन, कुनै पनि काम गरिसकेपछि साबुन पानीले हात धुन, बाहिरबाट आएका मानिससँग हात नमिलाउन भनेको छ । अहिले सरकारले काम गर्ने कम्पनी होस् या विद्यालय लगायत हरेक कार्यालयमा सुरक्षित हुनका लागि विभिन्न कक्षाहरु पनि सञ्चालन गरिंदैछ ।

सार्वजनिक यातायात चढ्दा र झर्दा केमिकलले अनिवार्य हात धुने व्यवस्था गरिएको छ । मोबाइलमार्फत सरकारले हरेक घण्टा सुरक्षित रहने उपायहरु पठाईरहेको छ । 

कोरिया नेपाल सम्पर्क समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ अहिलेसम्म नेपालीमा संक्रमण नदेखिनु राम्रो पक्ष भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सचेत रहनुपर्छ र सचेत रहनको लागि हामी व्यक्ति र हामीले काम गर्ने कम्पनीले हर प्रयास गरिरहेका छौं, परिवारमा आतंक फैलाउने खालमा खबरहरु प्रकाशन नगरिदिनुहोला ।’ 

कोरियामा बसेकाहरुको समूह तथा संघसंस्थाहरुले गर्ने भेटघाट तथा कार्यक्रमहरु तत्कालका लागि सबै स्थगित गर्न लगाएको पनि श्रेष्ठले बताउनुभयो । 

केही सञ्चारमाध्ययमबाट परिवारमा चिन्ता बढाउने काम गरेको भन्दै कोरियामा रहेका सोलुखुम्बुका धर्मपुजन सुनुवार आफूहरु अहिले सचेत रहेको र समस्या आउने सम्भावना बढ्नसाथ नेपाली दूतावासलाई जानकारी गराउने बताउनुहुन्छ । सुनुवार भन्नुहुन्छ, ‘कम्पनीभित्र निकै कडाई गरिएको छ, दैनिक जीवन समस्यामा भए पनि संक्रमणको डर अहिले नै छैन ।’

उदयपुरबाट कोरिया आएका कुमार भुजेल पनि सामाजिक सञ्जालमा धेरै नकरात्मक चर्चा हुँदा परिवारमा चिन्ता बढेको र त्यसको असर आफूहरुमा पनि बढेको बताउनुहुन्छ । 

दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलन थालेको सत्य हो । संक्रमितको संख्या बढिरहेको छ । यो भाइरसले निकै दुःख दिन्छ भन्ने आँकलन कोरियन सरकारले पनि गरेको छ । सँगै सुरक्षाको लागि पनि धेरै काम भैरहेका छन् । विदेशी कामदारहरु रहेको कम्पनीमा सुरक्षाका उपायहरु उच्च बनाइएको छ । कोरिया सरकार तथा मातहतका विभिन्न संघसंस्था सुरक्षाका उपायबारे सचेतना तथा अरु सहयोगका लागि सक्रिय भएका छन् । 

(हाल कोरियामा कार्यरत सोलुखुम्बुका जोकराज कुलुङ नेपालमा हुँदा पत्रकारिता गर्नुहुन्थ्यो ।)
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जाेकराज कुलुङ

नेपालमा हुँदा पत्रकारिता गर्ने सोलुखुम्बुका कुलुङ हाल दक्षिण काेरियामा कार्यरत हुनुहुन्छ।)

तपाईको प्रतिक्रिया