४० घण्टा बित्दासम्म भोजपुरका कोरोना सङ्क्रमितलाई लगिएन अस्पताल

 बैशाख १३, २०७७ शनिबार १२:२१:१२ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमित पुुष्टि भएको ४० घण्टा बितेको छ । कोरोन सङ्क्रमित भएपछि ती पुरुषलाई उपचारका लागि अस्पताल नपठाएर उनको स्वास्थ्यमाथि खेलबाड गरिएको छ । 

शुक्रबार उनलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी गरिएको थियो । ‘कोरोना सङ्क्रमित पुरुषसँग उनको परिवार, भलिबल खेलेका र सँगै खाएकाहरुको स्वाब लिने काम राति अबेरसम्म भएको कारण पठाउन सकिएन,’ हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासनलगायतले यो विषयमा समन्वय गर्नुपर्ने थियो । तर खासै केही भएन ।’ गएको ३० फागुनमा साउदीबाट काठमाण्डौ हुँदै चैत्र ११ गते भोजपुरको होम्ताङस्थित घर पुगेका उनको ९ गते बैशाखमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो ।

किन ढिलो भयो ?

दिउँसो अबेर सदरमुकामबाट नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समा गएका स्वास्थ्यकर्मी करिब ४ बजेर २० मिनेट जाँदा घोडेटार बजार पुगेका थिए । त्यहाँ पुगेपछि कोरोना सङ्क्रमितको घर होम्ताङ्ग भएको कारण करिब  १ घण्टाभन्दा बढी कच्ची बाटो हुँदै होम्ताङ्ग स्वास्थ्य चौकीमा पुगे स्वास्थ्यकर्मी र गाउँपालिकाका अध्यक्ष । 

‘त्यहाँ उनका परिवार र आफन्त गरी ८ जना र भलिबल खेलेका र सँगै खाएकाहरु ६ गरी १४ जनाको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यससँगै अन्य ७ जनाको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।’ 

होम्ताङ्गमै साँझको करिब साढे ७  बजेको कारण त्यहाँबाट घोडेटार बजार आउन समय लागेको थियो । घोडेटारको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा रहेको ती पुरुषलाई एम्बुलेन्समार्फत हतुवागढीको हसनपुर र बेलका नगरपालिका हुँदै लैजाने तयारी गरिएपनि हसनपुरको चुहारमा पुलबाट हिँडाउन पर्ने भएकोले नलगिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पुलमा हिँडाएर लैजादा त्यहाँ पनि कोरोन भाइरस फैलिन सक्ने भएकोले अब भोजपुर सदरमुकाम, लेगुवा धनकुटा हुँदै विराटनगर लैजाने तयारी भएको छ । सकेसम्म छिटो लैजान्छौँ ।’ 

स्वास्थ्य सामाग्री नहुँदा 

व्यक्तिगत सुरक्षा सामग्री गाउँपालिकामा नभएपछि स्वास्थ्यकर्मी समस्यामा परेका छन् । माक्स, पीपीईलगायतका  सामग्री २ देखि ३ दिनसम्म धुदै लगाउनुपर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव एसिस्टेन्ट उमेश राई बताउनुहुन्छ । 

गाउँपालिकामा थर्मल गन, माक्स र पीपीई समेत छैन । जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश सरकारले समेत स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा समाग्री उपलब्ध गराउन सकेका छैनन् । स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको माग गर्दै गाउँपालिकालाई समेत दबाब स्वास्थ्यकर्मीहरुले दिँदै आएका छन् ।

सिडिओकोे निरीक्षण 

सदरमुकामबाट हतुगढी गाउँपालिका करिब ४५ किलोमिटर रहेको छ । गाउँपालिकाको अनुगमन र निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीसहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली शनिबार निस्केका छन् । ‘गाउँपालिकालाई सिल गरिएको छ । गाउँपालिकाबाट बाहिरका मान्छेलाई आवतजावतमा पूर्ण निषेध गरिएको छ ।’

प्रमुख जिल्ला अधिकारी पुरीका अनुसार ती युवाका सम्पर्कमा आएका सबैजसोको स्वाब सङ्कलन गरिने तयारी गरिएको छ । ‘७० देखि ७५ जनाभन्दा बढीसँग दैनिक पुरुषको सम्पर्क भएको छ । उनले भने, ‘तिनीहरू सबैको स्वाब सङ्कलन गरेर पिसिआर गरिन्छ ।’ उनीहरूको स्वाब पिसिआरको लागि आज धरान पठाइँदै छ ।

मुख्यमन्त्री आउँदैै

हतुवागढीका अध्यक्ष राईका अनुसार आज साढे १ बजे प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य सामाग्री लिएर गाउँपालिकाको निरीक्षणका लागि आउँदैहुनुहुन्छ । अध्यक्ष राईले भन्नुभयो, ‘मुख्यमन्त्री राईको छिमेकी गाउँपालिका हो । सङ्क्रमित युवा रहेको हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्रसमेत भएकोले उहाँ आउन लाग्नुभएको हो ।’

मुख्यमन्त्री राईसँग सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुमन्त्री हिक्मतकुमार कार्की समेत आउनुहुने अध्यक्ष राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया