गाउँमा खेतीपातीको चटारो : युवाहरु भारतीय क्वरेण्टीनमा

 बैशाख १६, २०७७ मंगलबार १६:५७:२८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - झन्डै १ महिनासम्म भारतीय क्वरेण्टीनमा बस्दासमेत  स्वदेश फर्कन नपाएका युवाहरुले आक्रोश व्यक्त गरेका छन् । 

यस्तो महामारीको बेलामा आफ्नो आँगन टेक्न नपाउँदा आफूहरुलाई निकै समस्या भएको बैतडीको दोगडाकेदारका हरिश भट्टले बताउनुभयो । अहिले गाउँमा गहुँ काटेर मकै छर्ने बेला सुरु भइसकेको र आफूहरु भने भारतीय क्वरेण्टीनमा यसरी महिनौँ बस्नुपर्दा खेतीपातीको काममा समेत बाधा सिर्जना भइरहेको बताउनुभयो । 

भारतीय क्वरेण्टीनमा बसेका सबै मजदूरहरुको स्वास्थ्य अवस्था सामान्य हुँदासमेत सरकारले स्वदेश फर्काउन नसकेकोमा दुख लागेको पुर्चौंडी नगरपालिका वडा न ३ का नरेन्द्र धामीले गुनासो गर्नुभयो । 

भारतीय क्वरेण्टीनमा बसेका मजदूरहरुलाइ कोरोनाको कुनै पनि लक्षण नदेखिएको अवस्थामा समेत सरकारले सीमामै अलपत्र अवस्थामा छोड्नु राम्रो नभएको उहाँले आक्रोश व्यक्त गर्नुभयो । 

मजदूरीका लागि भारतको पिथौरागढ लगायत क्षेत्रमा पुगेका नेपालीहरुले घर फर्कन नपाउँदा उनिहरुले मजदूरी गरेर कमाएको पैसा समेत सकिएको बताएका छन् । 

घर परिवारका लागि भनेर रातदिन कडा मेहनत गरेर कमाएको पैसासमेत भारतीय क्वरेण्टीनमै सकिएको नेपाली मजदूर विरेन्द्र पाठकले बताउनुभयो । कमाएको पैसा सबै सकिँदा आफूहरुलाइ निकै सकस भइरहेको उहाँले बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालयले भने सीमा नाकामा रहेका नेपालीहरुलाई फर्काउनका लागि पहल भइरहेका जनाएको छ । प्रत्येक पालिकामा क्वरेण्टीन निर्माणको काम सम्पन्न भएपछि नेपाली मजदूरहरुलाइ स्वदेश ल्याउने विषयमा संघीय सरकारको निर्णय पनि आवश्यक पर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । 

सीमामा रहेका नेपाली मजदूरहरुलाई स्वदेश ल्याउन केन्द्रको निर्णय पर्खिरहेको उहाँले बताउनुभयो ।

भारतको झुलाघाट र धार्चुलामा गरेर बैतडीका मात्रै करीब ९ सय मजदुर भारतीय क्वारेन्टाइनमा बसीरहेका छन् । उनिहरुले आफूहरुलाइ चाँडोभन्दा चाँडो स्वदेश फर्काउन सरकारसँग आग्रह पनि गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया