ओमानमा नेपालीलाई पर्ने सबै समस्या समाधान गर्न तयार छौं : राजदूत ढकाल

 बैशाख २७, २०७७ शनिबार १८:३८:२१ | सन्जिता देवकोटा

काठमाण्डौ – ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रमिकलाई परेका हरेक समस्या सुन्न र समाधानका लागि तत्पर रहेको बताउनुभएको छ । कोरोनाका कारण मात्र नभएर श्रमिकलाई परेका हरेक समस्या सुन्न र समाधानका लागि दूतावास तयारी अवस्थामा रहेको उहाँले बताउनुभएको हो । 

कोरोनाकै कारणले ओमानमा त्यति धेरै श्रमिकाई समस्या परेको जानकारी प्राप्त नभए पनि पछि उत्पन्न हुनसक्ने परिस्थितिका लागि दूतावास तयारी अवस्थामा रहेको राजदूत ढकालले बताउनुभयो । ‘अहिले नै हामी ठाउँठाउँमा जानुपर्ने अवस्था त आइसकेको छैन, तर हामी तयारी अवस्थामा छौं,’ उहाँले भन्नुभयो, ‘भोलि आउने हरेक परिस्थितिको सामना गर्न तयारी अवस्थामा छौं ।’

यी हुन दूतावासले गरेका तयारी :

दूतावासका अनुसार ओमानमा झण्डै १७ हजार नेपाली श्रमिक कार्यरत छन् । उनीहरुको समस्या सुन्नका लागि २४ घण्टे हटलाइनको व्यवस्था दूतावासले गरेको छ । समस्या परेमा जनुसुकै बार र समयमा ७१५९२५०६ नम्बरमा फोन गर्न सकिने राजदूत ढकालले बताउनुभयो ।

दूतावास ओमानको मस्कटमा रहेको र हरेक ठाउँमा पुग्न नसक्ने भएकाले स्वयंसेवी टोली बनाइएको उहाँले जानकारी दिनुभयो । जसमा ओमानमा कार्यरत र सामाजिक सेवामा रुचि राख्नेहरु समावेश छन् ।

उनीहरुले दूतावास तत्काल पुग्न नसक्ने ठाउँका नेपालीलाई परेको समस्या समाधान सहयोग र समन्वय गर्ने गर्छन् । दूतावासले नै सहजीकरण गरेकाले भोलि परिआएको खण्डमा राहत वितरणदेखि अन्य काममा पनि त्यो समूहलाई परिचालन गर्ने दूतावासको योजना छ । 

‘जतिसक्दो छिटो श्रमिकले भोगेका समस्या समाधान गर्न सकियोस् भनेर नै यो टिम बनाएका हौं,’ राजदूत ढकालले भन्नुभयो, ‘दूतावास तत्काल पुग्न नसक्ने टाढा टाढाका क्षेत्रमा उहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।’

त्यस्तै, दूतावासले ओमानमा क्रियाशील नेपाली संघसंस्था, सोसल क्लब, एनआरएनए लगायतसँग पनि सहकार्य गरिरहेको राजदूत ढकालले बताउनुभयो । उहाँका अनुसार ओमानमा अहिले नै जटिल समस्याहरु उत्पन्न भइसकेका छैनन् । तर दूतावासले १७ हजार नेपालीको सहयोगका लागि आफ्नो तयारी पूरा गरेको राजदूत ढकाल बताउनुहुन्छ । 

घर फर्कन ३ सयको निवेदन

ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत श्रमिकलाई परेका समस्या, अवस्था र चाहनासहितको विवरण संकलन गर्न थालेको छ । शुक्रबारसम्ममा झण्डै ३ सय जनाले स्वदेश फर्कने चाहना राखेर आफ्ना विवरण दूतावासमा पेश गरेको राजदूत ढकालले जानकारी दिनुभयो । 

दूतावासमा अहिले पनि सबैभन्दा धेरै घर जाने तयारीमा रहेका तर लकडाउनका कारण रोकिएका नेपालीहरुकै जिज्ञासा बढी आउने गरेको उहाँले बताउनुभयो । 

‘लकडाउन कहिले खुल्छ, कहिले कसरी फर्कन पाइएला भन्ने भन्ने जिज्ञासा बढी आउँछ, घर जान नपाउँदा केहीलाई समस्या भएको छ, हामीले खाद्यान्न लगायत व्यवस्था गरिरहेका छौं,’ राजदूत ढकालले भन्नुभयो, ‘काम बन्द भएपछि क्वारेण्टीनमा बस्नेहरु पनि हुनुहन्छ, दूतावासले उहाँहरुलाई परेका समस्या समाधान गरिरहेको छ ।’

भिसा सकिएका, भिजिट भिसामा ओमानमा रहेका लागयत केही सङ्ख्यामा अहिले नेपाली श्रमिकलाई तत्काल सहयोगको आवश्यकता भए पनि धेरैमा समस्या नभएको उहाँको भनाइ छ ।

राजदूत ढकालका अनुसार, समस्यामा पर्नेलाई सम्पर्क गर्नेदेखि उनीहरुको समस्या सम्बन्धित मन्त्रालयलाई पनि जानकारी गराइएको छ । दूतावासले समस्यामा पर्नेको तथ्याँक सङ्कलन गर्न थालेकाले आफ्नो विवरण भर्न राजदूत ढकालको अनुरोध छ ।

‘यो विवरण भरेमा भोलिका दिनमा, उद्धार, राहत लगायत अन्य विभिन्न समस्या समाधान गर्न सजिलो हुन्छ,’ उहाँले भन्नुभयो, ‘भर्नुभएको छैन भने भर्नुहोस्, आफ्नो साथीलाई पनि जानकारी गराउनुहोस् र नजान्नेलाई सिकाइ पनि दिनुहोस् ।’

दूतावासमा कोरोनाका कारण मात्र नभइ अन्य कारणले परेका समस्या पनि राख्न सकिन्छ । दूतावासमा जुनसुकै समयमा पनि सम्पर्क गर्न सकिने राजदूत ढकाल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘हामी शुक्रबार, शनिबार केही भन्दैनौं, तपाईँलाई परेका समस्या सून्न दूतावास जुनसुकै बेला पनि तत्पर छ ।’

सरकारको प्राथमिकताको क्षेत्रमा काम भइरहेको छ

राजदूत ढकालका अनुसार ओमानमा कोरोना सङ्क्रमण रोकथामका लागि मे २९ सम्म लकडाउनको अवधि थपिएको छ । मस्कट प्रशासकीय क्षेत्र, मात्रा विलायत तथा जालन बानी बु अलि व्यवासायिक बजार क्षेत्रमा मे २९ राती १० बजेसम्म लकडाउन हुनेछ ।

तर पनि ओमान सरकारको प्राथमिकतामा रहेको विभिन्न परियोजनाहरुमा काम धमाधम भइरहेको छ । विकास निर्माण, पूर्वाधारका क्षेत्रमा काम भइरहेको छ । तर कोरोनाले प्रत्यक्ष प्रभाव पारेका केही कम्पनीमा कार्यरत श्रमिकले भने अहिले काम पाएका छैनन् । 

कोरोनाकै कारण तेल र ग्यासको मूल्य घट्दा यसको असर नेपाली श्रमिकको रोजारीमा देखिन सक्ने राजदूत ढकाल बताउनुुहुन्छ ।

‘यो कहिलेसम्म रहला भन्ने अवस्था नरहेकाले लामो समयसम्म यही अवस्था रहेमा केहीको रोजगारी गुम्न सक्छ, तर सबैको एकैपटक गुम्ने भन्ने होइन,’ राजदूत ढकाल भन्नुहुन्छ, ‘त्यो अवस्थाका लागि हामी तयार रहनुपर्छ, रोजगारी गुमाएर समस्यामा पर्ने श्रमिकलाई सहयोग गर्न दूतावास तयार छ ।’

काम हुँदा पनि स्वास्थ्यका हिसाबले नेपाली श्रमिक एकदमै चनाखो हुन आवश्यक रहेको उहाँले बताउनुभयो । ओमानमा पछिल्लो समय सङ्क्रमण बढ्दै गएकाले जोखिम पनि उत्तिकै बढेकाले स्वस्थ्य नेपाली पनि सचेत भएर काम गर्नुपर्ने उहाँको भनाई छ । 

कोरोना सङ्क्रमित नेपाली भए, नभएको जानकारी छैन

ओमानमा शनिबारसम्ममा ३ हजार २ सय ३४ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये एक हजार ६८ जना निको भएका छन् । २ हजार १ सय ३९ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १७ जनाको ज्यान गएको छ ।

तर ओमानका कार्यरत नेपालीमा सङ्क्रमण भए, नभएकोबारे दूतावासमा जानकारी छैन । ओमानले कोरोना सङ्क्रमितको राष्ट्रियता नखुलाउने नीति लिएको छ । जम्मा सङ्क्रमितको सङ्ख्या भने पनि कुन देशका नागरिक भनेर नखुलाउँदा नेपाली सङ्क्रमित भए, नभएको दूतावासलाई आधिकारिक जानकारी नभएको राजदूत ढकालले बताउनुभयो । 

‘केही नेपालीले हामी ठिक छौं, तर आइसोलेसनमा राखेको छ, रिपोर्ट आउन बाँकी छ भन्दै दूतावासमा सम्पर्क गर्नुभएको छ, तर ओमान सरकारले नेपालीकाबारेमा आधिकारी जानकारी दूतावासलाई दिएको छैन’ राजदूत ढकालले भन्नुभयो । 

आइसोलेसनमा छौं भनेर दूतावासमा सम्पर्क गर्नेको स्वास्थ्य अवस्थाबारे दूतावासले आफैंले सम्पर्क गरेर नियमित जानकारी लिइरहेको छ । कोरोना वा अन्य जुनसुकै कारणले समस्या परे पनि दूतावासमा सम्पर्क गर्न र सुरक्षित रहन ओमानमा रहेका नेपालीलाई राजदूत ढकालले अनुरोध गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Shekhanwar

    May 10, 2020, 2:38 a.m.

    म नेपाल जान चाहान्छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया