यूएईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीको रोजगारी गुम्यो, जहाज चार्टर्ड गरेर नेपाल पठाउने कम्पनीको प्रस्ताव

 असार २३, २०७७ मंगलबार १८:४०:५१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकैपटक तत्काललाई रोजगारी गुमेको छ ।

कोरोनाको कारण काम बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बिहीन भएका छन् । यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउटसोर्सिङ गरे कामदार सप्लाई गर्छ ।

तर अहिले विभिन्न साइटहरु बन्द हुँदा कम्पनीले कतिपयलाई लामो समयको बेतलबी बिदा दिएको छ भने कतिपयले राजीनामा दिएका छन् । कतिपय श्रमिक भने अब काम नगर्ने मनस्थितिमा पुगेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो कम्पनीसहित अन्य आधा दर्जन कम्पनीले आफ्ना श्रमिकलाई छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

यी कम्पनीले दूतावासमा श्रमिकको नामसमेत पठाइसकेका छन् । श्रमिकलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिन्छु भन्ने कम्पनीको प्रस्ताव दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रमार्फत स्वीकृतिका लागि विभिन्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता धितालले जानकारी दिनुभयो ।

यूएईमा धेरै नेपाली श्रमिक कार्यरत, राम्रो सेवासुविधा दिने छवि बनाएका ट्रान्सगार्ड कम्पनी, एसके इन्जिनियरिङ लगायत कम्पनीले अहिले धेरैलाई लामो समयको बेतलबी बिदा दिएका छन् ।

‘सबैको जागिर गएको हैन, तर काम प्रभावित भएपछि कम्पनीले कतिपयलाई पछि बोलाउने शर्तमा लामो समयको बेतलबी बिदा दिएर आफैंले छुट्टै नेपाल पठाइदिन खोजेका हुन्,’ प्रवक्ता धितालले भन्नुभयो ।

श्रम काउन्सिलर निर्मला थापा र मोतिराम भूषालले कम्पनीसँग समन्वय गर्ने र राेजगारी गुमाएका श्रमिककाे सूची तयार गरिरहेको दूतावासले जनाएको छ । 

ट्रन्सगार्ड कम्पनीले यसअघि पनि बेतलबी बिदामा बसेका, भिसाको अवधि सकिएका लगायत केही श्रमिकलाई एअर अरेबियाको चार्टर्ड उडानमार्फत नेपाल पठाइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया