दोलखामा भाेलिदेखि एक हप्ताका लागि लकडाउन

 साउन ३०, २०७७ शुक्रबार २०:३५:५२ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखामा एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन र नियन्त्रण गर्नलाई प्रभावकारी बनाउन एक हप्ताका लागि लकडाउन घोषणा गरिएको हो ।

चार दिनको अवधिमा दोलखामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गरिएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले साउन ३१ गते बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन घोषणा गरेको हाे । लकडाउनको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन तथा हिँडडुल गर्न पूर्णरुपमा निषेध गरिएको छ । त्यसैगरी अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुनेछ ।

जिल्लाभर सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउनुका साथै जिल्लाभरका बजार र पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु– औषधि, खाद्यान्न तरकारी, दुग्ध पदार्थ बिहान १० बजेसम्म खुला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

यसअघि २७ गते मङ्गलबार गौरीशङ्कर गाउँपालिकामा एक स्वास्थ्यकर्मीसहित विदेशबाट आएका पुरुष गरी दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बिहीबार कालीञ्चोक गाउँपालिकामा भारतबाट आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रबार गौरीशङ्कर गाउँपालिकामा पालिकाका कर्मचारी, बैंकका कर्मचारी तथा होटल व्यवसायी चार पुरुष र एक महिला गरी थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार कोरोना पुष्टि भएका दुई जनाको सम्पर्कमा गएका ८३ जनाको स्वाब परीक्षणका क्रममा शुक्रबार चार पुरुषसहित एक महिलामा कोरोना पुष्टि भएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया