सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी

 असोज ४, २०७७ आइतबार १३:१:१२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - कोरोनाका कारण यसअघिका धेरै चाडपर्व राम्रोसँग मनाउन नपाए पनि नजिकिँदै गरेका दशैं तिहार चाहिँ मनाउन पाइन्छ कि भन्ने धेरैको आश छ । बजार पसल र यातायात खुलेपछि दशैं तिहारको तयारी पनि बिस्तारै सुरु भएको छ । चाडपर्व नजिकिएसँगै सरकारी स्वामित्वका संस्थानहरु पनि चाडपर्व केन्द्रीत हुन थालेका छन् । 

कोरोनाको जोखिम कायमै रहे पनि संस्थानहरुले गएका वर्षहरुमा जस्तै यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनको तयारी थालेका हुन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले असोज १५ गतेपछि संयुक्त बजार अनुगमन थाल्ने निर्णय गरेको छ ।

त्यसपछि सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने तयारी छ ।  बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा पनि सम्बन्धित निकायको बैठक  छिट्टै बस्ने भएको छ । अब बस्ने बैठकले नै कहिलेदेखि सुपथ मूल्यको पसल सञ्चालन गर्ने, पसल सञ्चालनको मापदण्ड के हुने, कहिलेसम्म सञ्चालन गर्ने, कति ठाउँमा सञ्चालन गर्ने  लगायतका बारेमा निर्णय गर्ने मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो । 

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सुपथ मूल्य पसल सञ्चालनका लागि तयारी भइरहेको जनाएको छ । सुपथ पसल कहिलेदेखि सञ्चालन हुने र कति छुट दिने भन्नेबारे टुंगो लाग्न बाँकी भएको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले जानकारी दिनुभयो । 

चिनीको भाउ बढ्न नदिने

गएका वर्षहरुमा  चिनीको अभाव भएको भन्दै व्यापारीले भाउ बढाएर महँगो दरमा बेच्ने गरेका थिए । तर यो पटक भने त्यस्तो हुन नदिने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । दशैं, तिहार तथा छठ तथा त्यसपछिको समयलाई लक्षित गरेर २० हजार टन चिनी ल्याउने तयारी भएको भन्दै यो पटक महङ्गो नहुने र पर्याप्त पाइने कर्पोरेशनको भनाइ छ  ।

पर्याप्त उत्पादन नहुँदा संस्थानले भन्सार छुटमा प्रत्येक वर्ष ५० हजार टन चिनी भारतबाट आयात गर्दै आएको छ । दशैंका लागि टेन्डर प्रक्रियाबाट २० हजार टन चिनी ल्याउन सप्लायर्स छनोट भएर प्रतीतपत्र खोल्ने तयारी भैरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

प्रतीतपत्र खुलेको १५ दिनपछि नेपालमा चिनी भित्रिन सुरु हुने कर्पोरेशनको भनाइ छ । साल्ट ट्रेडिङले प्रतिकिलो ८० रुपैयाँ आसपास हुने गरी चिनी उपलब्ध गराउने योजना बनाएको छ । सुपथ पसलमा थप ५ रुपैयाँ छुट गर्दा प्रतिकिलो ७५ रुपैयाँ आसपासमा उपभोक्ताले चिनी पाउनेछन् । अहिले बजारमा प्रतिकिलो चिनीको भाउ ९० रुपैयाँसम्म पर्छ ।

नेपाल ल्याउने चिनीमध्ये थप १० हजार टन चिनी आयातको जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दिइएको छ । लिमिटेडका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले तिहारमा मात्र चिनी ल्याउन सक्ने बताउनुभयो । ‘टेन्डर प्रक्रियामा ढिलाई भएकाले दशैँमा ल्याउन सकिँदैन’ उहाँले भन्नुभयो । अहिले चिनीमा ४० प्रतिशत भन्सार शुल्क तोकिएको छ । अब दुबै कम्पनीले २० प्रतिशत भन्सार तिरेर  चिनी ल्याउने भएका छन् ।  

होम डेलिभरीकोसमेत व्यवस्था

जनजीवन सामान्य बनाउने प्रयास भइरहेको भए पनि कोरोनाको जोखिम अझै कम हुन सकेको छैन । त्यसैले यो वर्ष होम डेलिभरीकोसमेत व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष घर-घरमा सामान पुर्याउने र कार्डमार्फत् रकम भुक्तानी गर्न सकिने व्यवस्थालाई प्राथमिकता दिइएको छ । यस्तै पसल सञ्चालन गर्दा पनि सरकारले तोकेको सुरक्षा मापदण्डको पालना गरिने उहाँको भनाइ छ ।  किन्ने र बेच्ने दुवैले भौतिक दूरी अनिवार्य कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने, भीडभाड हुन नदिने लगायतका सुरक्षा मापदण्ड अपनाउने सुवेदीले बताउनुभयो । 

खाद्य संस्थानले ३ हजार खसीबोका र च्याङ्‍ग्रा ल्याउने

खाद्य संस्थानले यो वर्षको दशैंमा ३ हजार खसीबोका र च्याङ्‍ग्रा ल्याउने तयारी गरेको छ । १६ सय खसीबोका र १४ सय च्याङ्‍ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले बताउनुभयो ।  

खसीबोका दाङ, नेपालगञ्ज र हेटौंडाबाट तथा च्याङ्‍ग्रा मुस्ताङबाट ल्याइने छ ।  गएको वर्ष दशैं र तिहारमा गरी ३ हजार १९ वटा खसी बोका र च्याङ्‍ग्रा ल्याइएको थियो । यो वर्ष घटस्थापनाको अघिल्लो दिनदेखि ल्याउन सुरु गरिने खनालले बताउनुभयो  । मूल्य निर्धारण भैसकेको छैन । तर बजार मूल्यभन्दा केही सस्तोमा दिने उहाँको भनाइ छ । 

प्रभावकारी र पर्याप्त हुन नसकेको गुनासो

कालोबजारी रोक्नका लागि भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । तर प्रभावकारी र  पर्याप्त नभएको जनगुनासो आउने गरेको छ । थोरै मात्रामा सञ्चालन हुने सुपथ मूल्य पसल सबै नागरिकको पहुँचमा पुग्न सक्दैन र  चाडपर्वको फाइदा उठाएर केही व्यापारीले  मनोमानी मूल्य लिने गरेका छन् ।

कतिपय व्यापारीले कृत्रिम अभाव सिर्जनासमेत गर्नाले समस्या हुने गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृत्रिम अभाव र महङ्गो नहोस् भन्नका लागि बजार अनुगमन गर्ने बताइसक्नुभएको छ । कृत्रिम अभाव र भाउ बढाएको पाइएमा कारबाही गर्ने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया